Nepal's First Video FM

किन गरियो सेक्युरिटी प्रेस खरिद लेखा समितिका यस्तो प्रश्न

405

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा सेक्युरिटी प्रेस खरिदबारे परेका उजुरीमा छलफल सुरू भएको छ।

बिहीबार बिहान सिंहदरबारमा बसेको समितिको बैठकले सेक्युरिटी प्रेस खरिदबारे सरकारलाई आधा दर्जन बढी प्रश्न गरेको छ। आजको छलफलमा यी प्रश्नको उत्तर दिन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई बोलाइएको थियो। राजधानी बाहिर रहेका बाँस्कोटा समितिको बैठकमा अनुपस्थित छन्।

समितिले सरकारले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ‘खुला प्रतिस्पर्धा नगराई तीन देशलाई मात्र किन पत्राचार गरिएको’ भनेर प्रश्न गरेको छ।

सरकारले सुरूआतमा फ्रान्स, जर्मनी र स्वीस कम्पनीसँग प्रेस खरिदबारे पत्राचार गरेको थियो।

समितिले पोल्याण्डको सरकारी कम्पनीले सेक्युरिटी प्रेसबारे प्रधानमन्त्रीलाई लेखेको पत्रको विषयमा वेवास्ता गरिएकोमा समेत प्रश्न गरेको छ।

पोल्याण्डको सरकारी कम्पनी पिडब्लु, पिडब्लु एस ए ले सेक्युरिटी प्रिन्टिङ उपलब्ध गराउन पत्र लेखेको थियो।

समितिले स्वीस कम्पनीको प्रस्ताव वेवास्ता गरिएकोमा समेत चासो जनाएको छ। नेपाल सरकारलाई व्ययभार नपर्ने गरी ५ वर्षमा हस्तान्तरण गर्ने गरी २ सय मिलियन युरोमा नोट छाप्ने सुविधा सहितको प्रेस स्थापना गर्न स्वीस कम्पनीले पत्राचार गरेकोमा काम अगाडि नबढाइएकोमा समितिले चासो व्यक्त गरेको छ।

सरकारले गत पुस ७ गते स्वीस कम्पनीलाई छाडेर फ्रान्स र जर्मनीको कम्पनीसँग प्रस्ताव माग्ने निर्णय गरेको थियो। लगत्तै स्वीस कम्पनीका एजेन्टले संसदको सार्वजनिक लेखा समितिमा उजुरी गरेका थिए।

You might also like

Comments are closed.