नेपाल नागरिक उड्डयन प्राधिकरण तथा सेवा प्रदायक कम्पनीबाट समेत विशिष्ट व्यक्ति (भीआईपी) उडान प्रक्रिया तय नहुँदा हेलिकप्टरको आफूखुसी उडान गर्ने प्रवृत्ति छ । यस्तो प्रवृत्तिका कारण पूर्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जना चढेको हेलिकप्टर दुर्घटनामा परेको पाइएको छ ।
नेपालमा अतिविशिष्ट व्यक्ति (भीभीआईपी)को हवाई उडानका बेला अपनाउने प्रक्रिया स्पष्ट छ । तर विशिष्ट व्यक्ति (भीआईपी)को उडान प्रक्रिया स्पष्ट नतोकिएको पाइएको छ ।
१५ फागुन २०७५ मा पाथिभराबाट काठमाडौंका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारी, नेपाल सरकारका उच्च अधिकारी, व्यापारी, सुरक्षाकर्मीसहित ७ जनाको निधन भएको थियो ।
त्यसपछि सरकारले छानविन आयोग गठन गरेको थियो । आयोगले आफ्नो अन्तिम प्रतिवेदन सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाएको छ । प्रतिवेदनमा पाइलट वा हिमआँधीका कारणभन्दा पनि नेपालको हवाई उडानको प्रद्धती र प्रणालीका कारण दुर्घटना भएको उल्लेख छ ।
काठमाडौंबाट उडेको एयर डाइनेष्टी हेलि सर्भिसको ९ एनएएमआई हेलिकप्टरको उडान काठमाडौं-तेह्रथुम-काठमाडौंका लागि निर्धारित थियो । यसको जानकारी काठमाडौं टावरसँग थियो । त्यहीअनुसार हेलिकप्टर काठमाडौंबाट उडेको थियो ।
तर, दुर्घटना पाथिभरामा भएको छ । त्यस विषयमा आयोगले भीआईपी उडानको प्रक्रिया आवश्यक रहेको देखाएको हो । भीआइपी उडानको प्रक्रिया भएको भए जति सुकै ठूलो मान्छेले आग्रह गरेको भएपनि हेलिकप्टर पूर्वनिर्धारित प्रक्रिया र रुटभन्दा बाहिर गएर उड्न सक्ने थिएन । हेलिकप्टरमा एयर डाइनेस्टीका मालिक आङछिरिङ शेर्पासमेत सवार थिए ।
छानविन आयोगका संयोजक यज्ञप्रसाद गौतमका अनुसार तेह्रथुमबाट पाथिभरा जाने योजना कहाँ कसरी बन्यो भन्ने पुष्टी हुन सकेको छैन ।
‘काठमाडौंबाट तेह्रथुम पुगेर काठमाडौं नै फर्कने योजनाअनुसार उडेको हेलिकप्टर कसरी पाथिभरा जाने योजना कसरी बन्यो, त्यसको पुष्टी हुने आधार देखिएन,’ उनले भने ।
Comments are closed.