Nepal's First Video FM

मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्छ : मन्त्री थापा

579

फागुन १०, महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले नयाँ बन्न लागेको मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागी गराउनुपर्ने बताएकी छन् ।

रिपोर्टर्स क्लब नेपालले बिहिबार यहाँ आयोजना गरेको साक्षात्कारमा उनले संविधानले व्यवस्था गरेअनुसार मन्त्रिपरिषदमा महिला प्रतिनिधित्व गराउनुपर्ने बताए ।

“संविधानले संघ र प्रदेशमा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत महिला रहने अनिवार्य व्यवस्था गरेको छ, त्यसअनुसार महिला प्रतिनिधित्व हुनुपर्छ,”, उनले भने ।

मन्त्री थापाले स्थानीय तह बलियो भएमात्र संविधान कार्यान्वयन गर्न सजिलो हुने भएकाले विकास निर्माणमा स्थानीय क्षेत्रलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे । नेकपा (एमाले)का नेता महेश बस्नेतले मन्त्रिपरिषद्ले चाँडो पूर्णता पाउने बताए ।

नेता बस्नेतले मुलुकको समृद्धि र प्रविधियुक्त नेपाल वर्तमान सरकारको प्रमुख एजेण्डा हुने बताए । सबै हिसाबले प्रदेश नं ३ को राजधानी भक्तपुर मिल्ने भएकाले भक्तपुर राजधानी बनाउनुपर्ने उनको भनाइ थियो ।

नेपाली काँग्रेसका नेता रामकृष्ण यादवले जनताको जनादेश अनुसार काँग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । “राम्रो काम गरे हामी सरकारलाई सहयोग गर्छौं, नराम्रो काम गरे खबरदारी गर्छौं”, उनले भने । रासस

You might also like

Comments are closed.