नेपालमा मार्च, अप्रिल र मे महिनालाई पर्यटकीय मौसम मानिन्छ । विदेशी पर्यटकहरुको चहलपहल हुने यही मौसममा देशका पर्यटन व्यवसायीहरु अत्यधिक निर्भर हुन्छन् ।
तर, यतिबेला विश्वका विभिन्न देशमा फैंलिएको कोरोना भाइरसका कारण पर्यटन क्षेत्र नराम्ररी थला परेको छ । मुख्य सिजनमै पर्यटक नआएपछि व्यवसायी चिन्तित बनेका छन् । सरकारले भ्रमण वर्ष घोषणा गरेकाले यसपाली पर्यटन क्षेत्र फस्टाउने उनीहरुले अपेक्षा लिएका थिए । तर, ठीक उल्टो भयो ।
देशकै तेस्रो पर्यटकीय गन्तब्य सौराहा पनि यसबाट अछुतो रहने कुरा भएन । कोरोना भाइरसको त्रास कारण यहाँको पर्यटन व्यवसायमा ठूलो धक्का लागेको व्यवसायीहरु बताउँछन् । भूकम्प, नाकाबन्दी, नारायणगढ-मुग्लिन सडकखण्डको समस्याले भन्दा पनि ठूलो क्षति यसपटक कोरोनाको त्रासका कारणले हुने देखिएको उनीहरुको भनाइ छ ।
व्यवसायीका अनुसार विदेशी पर्यटक सर्लक्कै घटेका छन् भने, स्वदेशी पर्यटकहरु पनि न्यून संख्यामा मात्रै आइरहेका छन् । क्रिसमस र नयाँ वर्षपछि सौराहामा पर्यटकको चहलपहल बढ्थ्यो । विगतका वर्ष यो सिजनमा दैनिक एक हजारभन्दा बढी पर्यटक आउँथे । तर अहिले दैनिक २५० हाराहारी पर्यटक सौराहा आउने गरेका छन् ।
विदेशी पर्यटकमध्ये आधाभन्दा बढी चीनका पर्यटक यहाँ आउने गर्दछन् । गत वर्ष यतिबेला दैनिक ७०० हाराहारी चिनियाँ पर्यटक आउँथे । तर, अहिले चितवनमा चिनियाँ पर्यटक देख्न पाइदैन । दिल्लीमा कोरोना देखिएपछि भारतीयहरु पनि निकै कम भएका छन् । केही स्वदेशी, भारतीय र युरोपियन पर्यटकले अहिले सौराहाका होटलहरु जेनतेन चलिरहेका छन् । यहाँबाट दैनिक आठवटा वस काठमाडौँ र चारवटा बस पोखरा जान्छन् । ती बस पनि खालीजस्तै हुन्छन् ।
चितवन घुम्न आउने करिब २ लाख पर्यटकमध्ये ८५ प्रतिशतको हाराहारीमा सौराहा आउने गरेका थिए । हिमाल आरोहीहरु पनि जंगल सफारीका लागि यहाँ आउने गर्दछन् भने चरा हेर्न पनि चार प्रतिशत पर्यटक आउँछन् । सौराहा आउने पर्यटकका लागि यो मौसम निकै राम्रो मानिन्छ । यहाँ गर्मी पनि छैन र जाडो पनि हट्दै गएको छ । जाडो र गर्मी छल्न आउने चरा यो बेला एकैसाथ देखिन्छन् । तर यसपटक चरा हेर्नसमेत पर्यटक आएनन् ।
अकुपेन्सी १५-२५ प्रतिशत मात्र
यो मौसममा झण्डै ७० प्रतिशतको हाराहारीमा हुने होटलको अकुपेन्सी दर औसतमा १५ देखि २५ प्रतिशतमा झरेको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराइले जानकारी दिए । सौराहामा ११५ होटल छन् । चिनियाँ पर्यटकमा निर्भर रहेका १२ होटल सबैभन्दा बढी प्रभावित बनेका छन् ।
अहिले कतिपय होटलहरु बन्द हुने अवस्थामा छन् भने केहीले कामदारहरुलाई बेतलवी विदा दिएका छन् । कतिपय होटलले ५० प्रतिशतभन्दा बढी कामदार कटौती गरिसकेका छन् । चिनियाँ पर्यटकमा आधारित चितवन फरेस्ट रिसोर्टका सञ्चालकसमेत रहेका क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराइले ४० कोठा क्षमताको होटलमा ५ वटा मात्रै बुक रहेको बताए ।
‘म आफैं धरासयी हुने अवस्थामा पुगेँ,’ अध्यक्ष भट्टराइले भने, ‘यदि यस्तै अवस्था केही समय रह्यो भने व्यवसायीहरु पलायन हुन्छन् ।’
उनले होटलमा काम गर्ने २५ जनामध्ये १२ जना कामदारलाई छुट्टी दिइसकेका छन् । पहिले पहिले बर्खाको समयमा ब्यापार नभएको भन्दैं यहाँका होटलले कर्मचारीहरुलाई यसरी नै विदा दिने गरेका थिए । तर, पछिल्लो १० वर्ष यता बर्खामा समेत राम्रो ब्यापार भएपछि विदा कट्टौती गरिएको थियो । अहिले सौराहाका १ सय १५ मध्ये ६५ वटा होटलले कर्मचारीलाई बिदा दिएका छन् ।
Comments are closed.