नेपाली सेनाले कोरोना भाइरस संक्रमित उपचारका लागि पूर्वाभ्यास गरेको छ ।सैनिक स्वास्थ्य महानिर्देशनालयले पहिलो चरणमा ५४ वटा टेन्टमा १ सय ८ नमूना बिरामीको उपचारमा पूर्व अभ्यास गरेको हो ।महानिर्देशनालयले आफू मातहत रहेका सातवटै प्रदेशमा कार्यरत स्वास्थ्यकर्मी समेतलाई हिजो र आज तालिमसहित अभ्यासमा सहभागी गराएको हो ।
यस्तै सेनाका सबै इकाइहरुमा कोरोना भाइरसको संक्रमण रोक्न तालिम दिइएको छ । आज आयोजना गरिएको पूर्वाभ्यासमा संक्रमणबाट बच्ने उपायहरु र संक्रमितको उपचार पद्धतिका बारेमा जानकारी गराइएको थियो ।
५४ वटा टेन्टलाई ९ वटा समूहमा विभाजन गरेर अभ्यास भएको थियो । प्रत्येक समूहमा ६ वटा टेन्टमा राखिने १२ बिरामीहरुको उपचार, उनीहरुको आहार, सरसफाइ सहित आपतकालीन अवस्थाका विषयमा पूर्वाभ्यास गरिएको थियो ।
पोखरा, इटहरी र नेपालगञ्ज अस्पालबाट चिकित्सकसहित ६ जना, फिल्ड एम्बुलेन्सका २/२ जना गरी ३६ जना र ओपिडी हेर्ने १० जना चिकित्सकहरुलाई तालिम दिइएको हो । सेनाले १ सय ८१ जनालाई तालिम दिइएको छ, जसमा ५२ जना मेडिकल टिम र अन्य प्राविधिक टिम छ ।
आपतकालीन अवस्थाका लागि सेनाले तयारी अवस्थामा रहनका लागि पूर्वाभ्यास फलदायी हु्ने विश्वास लिएको छ ।
Comments are closed.