Nepal's First Video FM

पशुपतिनाथमा सबौ भन्दा बदी कोरोनाको जोखिम, ‘दैनिक २ देखि ३ हजार भारतीय पर्यटकहरु पशुपतिमा

629

६ चैत, काठमाडौं । सरकारले बुधबार सार्वजनिक गरेको १८ बुँदे निर्णयको ३ नम्बर बुँदामा भनिएको छ, ‘सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरुमा पार्टी प्यालेस, मठ मन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी मानिसहरु भेला हुन बन्द गर्ने ।’

स्वास्थ्य मामिलाका जानकारहरुका अनुसार कोरानाको जोखिम सैक्षिक संस्थाहरुमा भन्दा मन्दिर, गुम्बा, चर्च र सिनेमा हलमा बढी हुने गरेको बाहिरी अनुभव छ । किनभने, विद्यालयमा एकखाले मानिसहरु आउँछन् तर मन्दिर, चर्च, गुम्बा आदिमा अपरिचित मानिसहरुको आवत–जावत हुने भएकाले जोखिम बढी हुन्छ ।

जस्तो– दक्षिण कोरियामा त्यहाँको चर्चलाई कोरोनाको इपिसेन्टर नै मानिएको थियो भने पादरीले माफीसमेत माग्नुपरेको थियो ।

नेपालमा पनि सरकारले मठमन्दिर, गुम्बा र चर्चहरुमा सामुहिक भेला हुन रोक लागाउने निर्णय गरेको छ । तथापि मानिसहरुको धार्मिक आस्था प्रकट गर्ने ठाउँ भएकाले त्यहाँको भीड सहज हुनु चुनौतीपूर्ण देखिन्छ ।

पशुपतिको दर्शन गर्न आइरहेका भारतीय तीर्थालुहरूले त्यहीँबाट कोरोना नभित्र्याउलान् भन्न सकिने अवस्था छैन । कोरियाको चर्चमा प्रार्थना गर्नेहरूलाई नै कोरोनाले आक्रमण गरेको तीतो उदाहरण विश्वसामु छ
नेपालका धार्मिक पर्यटकीय स्थलहरुको अवस्था के छ ? यसबारे अनलाइनखबरले एक रिपोर्ट तयार पारेको छ ।

पशुपतिनाथमै कोरोनाको जोखिम !

कतिपय मानिसहरु भन्ने गर्छन्, पशुपतिनाथको कृपाले नेपालीहरुलाई अहिलेसम्म कोरोना भाइरस नलागेको हो । तर, अहिलेसम्म पशुपतिको दर्शन गर्न आइरहेका भारतीय तीर्थालुहरुले त्यहीँबाट कोरोना नभित्र्याउलान् भन्ने सकिने अवस्था चाहिँ छैन । कोरियाको चर्चमा पार्थना गर्नेहरुलाई नै कोरोनाले आक्रमण गरेको तीतो उदाहरण विश्वसामु छ ।

काठमाडौंमा हिन्दुहरुको आराध्यदेव पशुपतिनाथ मन्दिरमा यतिबेला भारतीय पर्यटकहरु बढेका छन् । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा पशुपति मन्दिरमा केही समययता नेपाली भक्तजन घटे पनि भारतीय भक्तजन भने बढेको बताउँछन् ।

‘दैनिक २ देखि ३ हजार भारतीय पर्यटकहरु पशुपति आइहनुभएको छ, नेपाली भक्तजन घटे पनि भारतीय पर्यटकको आगमन पातलिएको छैन,’ उनी भन्छन्, ‘रामनवमीको पूर्वसन्ध्या भएकाले पनि होला, विहार लगायतका क्षेत्रबाट आउनेहरु बढेका छन् ।’

शविरात्री र यसको आसपासको समय भारतीय पर्यटक आउने मुख्य सिजनमध्ये एक हो ।

खतिवडाले कोरोना संक्रमणको जोखिम कम गर्न मन्दिर परिसरमा ‘स्यानिटाइजर’ राखिएको बताए । कोषका अनुसार भक्तजनहरुलाई समयम–समयमा हात धुन तथा सरसफाइमा ध्यान दिन सूचना तथा प्रचार–प्रसार ब्याापक बनाइएको छ ।

माइकिङमार्फत पनि समय–समयमा सरकारले जारी गरेको सचेताना सम्बन्धी सूचना दिने काम भइरहेको कोषले बताएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला केही दिनदेखि नेपाल–भारत मैत्री बस सेवा बन्द गर्न सुरु गरिएकाले अब विस्तारै भारतीय पर्यटक घट्ने अनुमान गरिएको बताउँछन् ।

‘भारतसँग काठमाडौं जोड्ने मैत्री बस सेवा स्थागित हुन थालेको छ,’ सिटौलाले अनलाइनखबरसँग भने, ‘यसले नेपाल आउने भारतीय पर्यटक पनि प्रभावित भएका छन् ।’

तर, प्राय: तीर्थाटनमा आउने भारतीय पर्यटकहरु ठूला बस रिजर्भ गरेर आउने भएकाले तत्कालै ठूलो संख्यामा पर्यटक नघट्ने कोषको विश्लेषण छ । नेपाल अहिलेसम्म सुरक्षित भएको सन्देश भारतमा गएकाले पनि भारतीय पर्यटकले यात्राको योजना स्थगित नगरेको हुनसक्ने खतिवडाले बताए ।

उनले मन्दिर परिसरमा पर्याप्त सतर्कता अपनाइएकाले सुरक्षितरुपमा भक्तजनले पूजा आराधना गर्न सक्ने दाबी गरे ।

प्रदेश २ मा पशुबलि यथावत्, मन्दिरमा हेल्थ डेस्क छैनन्

सरकारले सूचना जारी गरेकै दिन अनलाइनखबरले प्रदेश २ का मठ मन्दिरहरुको अवस्था के भनेर बुझ्ने प्रयास गरेको थियो । यसक्रममा सप्तरीको छिन्नमस्ता र जनकपुरधामस्थित जानकी मन्दिरको अवस्था जोखिमपूर्ण देखियो ।

प्रदेश २ का प्रमुख मन्दिरहरुमा कोरोनाको जोखिम बढ्न सक्ने खतरा किन देखिएको छ भने यहाँ न त भीडभाड रोकिएको छ, न सुरक्षाको सावधानी नै अपनाइएको छ ।

तर, सप्तरीको छिन्नमस्तास्थित सखडेश्वरी भगवती मन्दिरमा दैनिक हजारौंको संख्यामा श्रद्वालुहरु आउने गरेका छन् । मन्दिरमा पशुबलि पनि यथावत् चलिरहेको छ ।

छिन्नमस्ता मन्दिरमा दिनहुँ भीडभाड देखिने गरेको छ । यहाँ दैनिक हजारौंको संख्यामा श्रद्धालु आउने गर्छन् । तीमध्ये अधिकांश भारतकै हुन्छन् । कोरोनाको हल्ला चले पनि यो मन्दिरमा अहिलेसम्म भीड घटेको छैन ।

मन्दिरका मुख्य पुजारी महाकान्त ठाकुरले बुधबार मात्रै ५ हजारभन्दा बढी दर्शनार्थी आएको बताए । उनले बुधबार मात्रै २१४ वटा पशुको बलिसमेत मन्दिरमा प्रदान गरिएको जानकारी दिए ।

मन्दिरमा दैनिक भीड बढे पनि हेल्थ डेस्क राख्ने विषयमा कुनै पहल गरिएको छैन । मुख्य पुजारी ठाकुरले छिन्नमस्ता आफैं अस्तव्यस्त भएकाले यसतर्फ कुनै चासो नदिएको बताए ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनील खनालले भीड हुने स्थानमा हेल्थ डेस्क राख्ने काम सुरू भइसकेको बताए । उनले चाँडै यो मन्दिरमा पनि हेल्थ डेस्क राख्ने बताए । ‘यसका निम्ति पालिकासँग कुरा भइरहेको छ’ उनले भने, “छिन्नमस्ता मन्दिरमा चाँडै हेल्थ डेस्क स्थापना हुन्छ ।

छिन्नमस्तासँगै सप्तरीकै कंकालनी मन्दिरमा पनि श्रद्वालुहरुको भीड लाग्ने गरेको छ । तर, यहाँ पनि हालसम्म हेल्थ डेस्क स्थापना गरिएको छैन ।

धनुषाको जनकपुरधामास्थित जानकी मन्दिरमा दर्शनार्थीको संख्या केही घटेको छ ।
जानकी मन्दिरका महन्थ रामरोशन दासले पछिल्लो दुई सातायता मन्दिरमा श्रद्धालुको संख्या अत्यन्तै कम भएको बताए । ‘अहिले पहिलाको तुलनामा १० प्रतिशत भन्दा पनि कम श्रद्वालु आउन थालेका छन्’ अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘अहिले जनकपुर तथा आसपास क्षेत्रका दर्शनार्थी मात्रै आइरहेका छन् ।’

जानकी मन्दिरमा दैनिक ४ देखि १० हजारसम्म दर्शनार्थी आउने गरेका थिए । यो संख्यामा आधाभन्दा बढी भारतीय हुन्थे । तर, अहिले भारतीयहरु पटक्कै नआएको दासले सुनाए । ‘अहिले जनकपुर तथा आसपासका केही जिल्लाबाट मात्रै श्रद्धालुहरु आइरहेका छन्’ उनले भने ।

अत्यधिक भीड हुने मन्दिरमा सरकारले अहिलेसम्म कुनै सतर्कता अपनाएको छैन । महन्थ दासले मन्दिर प्राङ्गणमा हेल्थ डेस्क राख्न उप–महानगरपालिकाका मेयरसँग आग्रह गरेको बताए । यद्यपि अहिलेसम्म हेल्थ डेस्क स्थापना गरिएको छैन । केन्द्र सरकारले मन्दिरहरुमा भीडभाड नगर्न अपील गरिसक्दा पनि प्रदेशमा पर्याप्त ध्यान दिइएको देखिँदैन ।

लुम्बिनीमा के छ ?

नेपालको प्रमुख धार्मिक पर्यटकीय गन्तव्यमा पर्ने लुम्बिनीमा अहिले तेस्रो मुलुकका २०/३० जना, नेपालीहरु दुईसय जना र भारतीय २ सयको हाराहारीमा दैनि करुपमा लुम्बिनीमा पर्यटक आउने गरेको कोषका पथप्रदर्शक अधिकृत मुकुन्द गौतमले बताए ।

कोषका पथ प्रदर्शक अधिकृत मुकुन्द गौतमका अनुसार मार्च १४ मा १ हजार २ सय २१ जना, १५ मार्चमा ७९६ जना, मार्च १६ मा ४८२ जना र १७ मार्चमा ५८० जना पर्यटक लुम्बिनी पुगेका छन् ।

सरकारले नेपाल प्रबेशमा रोक लगाएपछि नेपाल आइरहेको जर्मन, फ्रान्स तथा स्पेनका नागरिक सीमानाका बेलहियाबाटै फर्किएका छन् । समयमै सूचना नपाएका कारण कतिपय पर्यटकले अनावश्यक दुःख पाएका छन् ।

गत वर्षको मार्चमा २८ हजार ७८१ पर्यटक नेपाल भित्रिएकोमा यस वर्ष मार्चको मध्यसम्म ८ हजार ३८१ जना मात्रै नेपाल आएको अध्यागमन कार्यालय बेलहियाको तथ्यांकमा छ ।

कोरोना संक्रमणको त्रासका कारण लुम्बिनीको पर्यटन क्षेत्र प्रभावित बनेको छ । नेपालकै मुख्य पर्यटकीय क्षेत्र मानिने बुद्ध जन्मस्थल लुम्बिनी प्रायः सुनसान छ ।

स्थलमार्ग हुदै सबैभन्दा बढी पर्यटक भित्रिने रुपन्देहीको वेलहिया नाकाबाट विभिन्न ८ मुलकका पर्यटकलाई नेपाल प्रवेशमा रोक लगाइएपछि यो क्षेत्रमा पर्यटक आउन सकेका छैनन् ।

रुपन्देहीका प्रमुख गन्तव्यहरुमा गौतमबुद्ध जन्मस्थल लुम्बिनी, बुद्ध मावली देवदह, सैनामैना, बुटवल फूलबारी, शंकरनगर तिलोत्तमाको वनबाटिका, नवलपरासीको रामग्राममा पनि बाह्य तथा आन्तरिक पर्यटकको संख्या समेत ह्वात्तै घटेको छ ।

अध्यागमन कार्यालय बेलहियाका प्रमुख गिरिराज खनालले चीन, इरान, इटाली, कोरिया, जापान, जर्मनी, फ्रान्स र स्पेनबाट आउने पर्यटकलाई नेपाल प्रवेशमा रोक लगाएको बताए । ‘हामीले कोरोनाको त्रासका कारण रोक लगाउनुपरेको हो, देशभर पर्यटकको संख्या अब नगन्य हुनेछ’ उनले सुनाए ।

चीन, इरान, इटाली, कोरिया, जापान गरी ५ देशका नागरिकलाई १० मार्चदेखि तथा जर्मनी, फ्रान्स र स्पेनबाट आएका नागरिकलाई १३ मार्चबाट लुम्बिनी प्रवेशमा रोक लगाइएको कोषका अधिकारीहरु बताउँछन् ।

You might also like

Comments are closed.