Nepal's First Video FM

वीरगञ्जका ४ संक्रमितमध्ये ३ जनाको दोस्रो रिपोर्ट पोजेटिभ

311

वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत चार जना कोभिड-१९ संक्रमितमध्ये तीन जनाको दोस्रो परीक्षणको रिपोर्ट पोजेटिभ नै देखिएको छ । एक जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

वीरगञ्ज–२ छपकैयास्थित मक्की जामे मस्जिदमा बस्दै आएका तीन जना भारतीय जमातीमा एक साताअघि कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो ।

रौतहटबाट पठाइएका संक्रमित एक युवकको उपचार पनि नारायणी अस्पतालमा नै भइरहेको छ । उनीहरूमध्ये कसको रिपोर्ट नेगेटिभ भन्ने खुलाइएको छैन । उनीहरूको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको अस्पतालले जनाएको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले तेस्रो चरणको परीक्षणका लागि आइतबार थ्रोट स्वाब नमुना संकलन गरेर प्रयोगशाला पठाइएको जानकारी दिए ।

वीरगञ्जमा पीसीआर मेसिन आइसकेको भए पनि आवश्यक अन्य समान नहुँदा ल्याब सञ्चालन हुन सकेको छैन । त्यसैले थ्रोट स्वाब संकलन गरेर वाग्मती प्रदेशको राजधानी हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाउने गरिएको छ ।

संक्रमित भारतीय नागरिक पुगेको क्षेत्रमा आइतबार पनि र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोनाको एन्टिबडी परीक्षण गरिएको छ । आइतबार मात्रै सुगौलीमा तीन सय ४० जनाको आरडीटी गरिएको छ । यसअघि वीरगञ्ज महानगरपालिका वडा नं १, २ र ३ वडा र २६ सुगौली क्षेत्रका मस्जिद आसपासमा १२ सय ५३ जनाको आरडीटी परीक्षण गरिएको थियो ।

You might also like

Comments are closed.