फाल्गुन ११, माओवादी केन्द्रबाट निस्कासन गरिएका नेता गोपाल किराँतीले आफूलाई कारवाही गरेकोमा पार्टी अध्यक्ष प्रचण्डलाई धन्यवाद दिएका छन् । उनले विज्ञप्ति निकालेर भनेका छन्, ‘दक्षिणन्थी काण्डको भण्डाफोर गर्दै नेकपा (माओवादी केन्द्र) पुनर्गठनको आह्वान’ गरिएको क्रान्तिकारी निर्णयलाई अभियोग ठानेर पुष्पकमल दाहाल एण्ड कम्पनिले हामीलाई ‘कथित कार्वाही’ गरेकोमा त्यस कम्पनिलाई धन्यवाद नै दिनुपर्छ ।’
एकपटक पनि सुनुवाइको मौका नदिइ कारवाहीको निर्णय गर्नुलाई उनले एकमनावादको पराकाष्ठा भनेका छन् ।
‘उक्त कार्वाही माओवादको विज्ञान र पहिचान मुद्दामाथिको कार्वाही हो भन्ने तथ्य स्वतः प्रमाणित हुनुको साथसाथै दाहाल एण्ड कम्पनिमा निहित एकमनवादको पराकाष्ठा समेत हो,’ किरातीले भनेका छन्, ‘माओवादी केन्द्र पुनर्गठन गर्नुपर्ने कारणबारे एकपटक पनि सुनुवाईको मौका नदिइकन कथित कार्वाही दाहाल कम्पनिकै विनाशको वर्खिलाप समेत हो ।’
किराँतीले एमालेसँगको एकता प्रक्रियाको विरोध गर्दै आएका थिए । उनले ‘माओवादी पुनर्गठन अभियान’ चलाएको घोषणा गरेका थिए । बिहीबार बसेको माओवादी बैठकले एकता विरोधी गतिविधिमा लागेको भन्दै किरातीसहित, विश्वभक्त दुवाल र लोकेन्द्र विष्टलाई निस्कासन गर्ने निर्णय गरेको थियो ।
किरातीले भने कार्वाहीको दुस्प्रचार गरिएको आरोप लगाएका छन् । आफू माओवादी केन्द्रमा नरहेको घोषणा पनि उनले सोही विज्ञप्तिमार्फत् जानकारी गराएका छन् ।
उनले भनेका छन्, ‘जो चोर, उसैको ठूलो स्वर भनेझैं मार्क्सवाद-लेनिनवाद-माओवादको सिद्धान्त र पहिचानको मुद्दा बेचेर खानेहरुले नै त्यो सिद्धान्त र मुद्दामा दृढ हामीलाई कार्वाहीको दुस्प्रचार गर्नु कायरताको परिचायक मात्र हो ।’
विज्ञप्तिमा थप लेखिएको छ, ‘एमालेकरण भइसकेको दाहाल एण्ड कम्पनि माओवादी केन्द्रमा नरहेको स्पष्ट गर्दै त्यस कम्पनिको प्रतिक्रान्तिकारी हर्कतविरुद्ध विरोधको झण्डा उठाउन पार्टी, वाईसीएल, जबस र मोर्चा संगठनका इमान्दार कमरेडहरुलाई जोडदार आह्वान गर्दछु । पार्टी पुनर्गठनमा सहयोग गर्न सबै देशवासीमा विशेष अपिल गर्दछु ।’
अनलाइन खबरबाट
Comments are closed, but trackbacks and pingbacks are open.