नेपाली भूभाग प्रयोग गरि भारतले तिब्बतको मानसरोबरसम्म पुग्ने बाटो निमार्ण गरेकोबारेमा सांसदहरुले सरकारको तयारीबारे जानकारी मागेका छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा सरकारकातर्फबाट परराष्टमन्त्री प्रदीप ज्ञवालीले सिमा विवाद सुल्झाउन कुटनीतिक पहल भइरहेको जानकारी दिएपछि सांसदहरुले मन्त्रीलाई प्रतिप्रश्न गरेका हुन्।
मन्त्री ज्ञवालीलाई प्रश्न सोध्दै कांग्रेस सांसद दिलेन्द्र बडूले सरकार बल्ल ब्युँझिएको टिप्पणी गरे। ‘धेरै लामो निन्द्रापछि सरकार आज ब्यूँझिए जस्तो छ । डिप्लोमेटिक नोट पठाएको सुनियो । आज उद्घाटन मात्रै भएको हो’, उनले भने, ‘कहिलेदेखि बन्न सुरु भयो ? त्यसको सूचना यो सरकारसँग थियो कि थिएन ? चीन र भारतबीचमा जति बेला समझदारी भयो, त्यतिबेला सुशील कोइरालाको सरकार थियो। उसले अत्यन्तै गम्भीर प्रोटेष्ट नोट पठाएको थियो। त्यसपछि आज उद्घाटन हुदासम्म यो सरकारले के नोट पठाएको छ? त्यसको जानकारी अहिले चाहियो ।’ बडूले सडक बन्दै गरेको सूचना सरकारसँग थिएन भने सूचनामाध्यम समाप्त भएका हुन् कि? भनेर प्रश्न गरे।
‘मैले यसबारेमा यही सदनमा हाम्रोपट्टीको बाटो नबन्ने तर उतातिर युद्धस्तरमा बाटो बनिरहेको ६ महिना अघि नै बताएको थिएँ’, उनले भने, ‘नेपाली भूमि मिचेर भारतले बनाएको सडक कालापानी-लिपुलेक पुग्दैछ भन्ने कुरा बोल्दा पनि ध्यानाकर्षण नहुने? मैले मिडियामा पनि बोलेको छु । सरकार के गरेर सुतिरहेको थियो ?’
Comments are closed.