१२ हजार भीटीएम मौज्दात छ सरकारसँग
पछिल्लो समय भारतबाट फर्किएर आउनेहरुको संख्या बढेसँगै स्थानीय तहको क्वारेन्टाइनमा चाप बढेको छ ।
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग पीसीआर विधिबाट कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्न थ्रोट स्वाब संकलन गर्ने भाडा भाइरल ट्रान्सपोर्ट मेडियम (भीटीएम) निकै कम मात्र मौज्दात रहेको पाइएको छ ।
पछिल्लो समय भारतबाट फर्किएर आउनेहरुको संख्या बढेसँगै स्थानीय तहको क्वारेन्टाइनमा चाप बढेको छ । तर उनीहरुमा कोरोना संक्रमण परीक्षण गर्न स्वाब संकलनका लागि चाहिने भीटीएम नपाएको गुनासो स्थानीय सरकारहरुले गरेका छन् ।मन्त्रालयको व्यवस्थापन शाखाका निर्देशक भोगेन्द्रराज डोटेलकाअनुसार संक्रमितको सख्ंया १५ सय अनुमान गरेर स्वास्थ्य सामग्रीहरु जुटाएको थियो ।
त्यसअनुसार मन्त्रालयसँग जम्मा एक लाख भीटीएम जम्मा भएको थियो । त्यसमध्ये ८८ हजार विभिन्न जिल्लामा पठाइएको छ भने अब १२ हजार मौज्दात छ ।
पीसीआर किट १ लाख २८ हजार थियो । ७८ हजार विभिन्न ल्याबमा पठाइएको छ भने ५० हजार मौज्दात छ । र्यापिड डाइग्नोस्टिक किट (आरडीटी) १ लाख ७५ हजार जम्मा भएको थियो । त्यसमध्ये ८० हजार विभिन्न स्थानमा बाँकी छ ।
स्वाथ्यकर्मीको व्यक्तिगत सुरक्षामा चाहिने पीपीई १ लाख ४६ हजार सेट जम्मा भएको थियो । त्यसमध्ये ५४ हजार विभिन्न स्थानमा पठाइएको छ भने ९२ हजार सेट बाँकी छ ।
यस्तै १५ लाख सर्जिकल मास्क, १ लाख ८० हजार एन ९५ मास्क, २ लाख ७८ हजार पञ्जा, ५३ हजार सुज कभर, १७ हजार क्याप र ६०० आईआर थर्मामिटर मौज्दात छ ।
सरकारले किनेका तथा सहयोगमा आएका सामग्रीहरुलाई पारदर्शी रुपमा वितरण गरेको डोटेलको दाबी छ । ‘केस देखिएको र केन्द्रीय अस्पतालहरुलाई हामी यहीँबाट पनि रेस्पोन्स गर्छौं’ उनले भने, ‘अरुको हकमा प्रदेशमार्फत पठाउने गरेका छौं ।’
भीटीएम, किट खरिद गर्ने तयारी
कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या बढेसँगै ५ हजार केसलाई आधारमा मानेर सामग्री जुटाउन थालिएको व्यवस्थापन शाखाका निर्देशक डोटेलले बताए । २ लाख ५ हजार भीटीएम खरिद गर्ने प्रक्रिया सुरु भएको छ । उनले भने, ‘छिट्टै आइपुग्छ ।’
यस्तै १ लाख ७५ हजार पीसीआर किट र १ लाख २१ हजार आरडीटी किट किन्ने प्रक्रिया सुरु भएको छ । उनका अनुुसार ९२ करोड रुपैयाँ बराबरका स्वास्थ्य सामग्री सरकारले प्राप्त गरेको छ भने ६६ करोडका सामग्री खरिद आउने क्रममा छ ।
Comments are closed.