Nepal's First Video FM

थप ७८ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या सात सय ७२ पुग्यो

नेपालमा थप ७८ जनामा कोरोना भाइरस (कोभिड- १९) संक्रमण पुष्टि भएको छ।

380

नेपालमा थप ७८ जनामा कोरोना भाइरस (कोभिड- १९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या सात सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मंगलबार दिउँसो आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लोपटक थपिएका संक्रमितको संख्या ७८ रहेको जनाएका हुन्। मंगलबारै सुर्खेतमा १२ जनामा संक्रमण पुष्टि भएको थियो। सुर्खेतका १२ सँगै मंगलबार संक्रमण पुष्टि हुनेको संख्या ९० रहेको छ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज (मंगलबार) एकै दिन ९० जनाको संक्रमण पुष्टि भएको हो। जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ३५ जनामा कोरोना पुष्टि भएको देवकोटाले बताए।

नयाँ थपिएका संक्रमित सिराहा, बारा, धनुषा, रौतहट, रुपन्देही, अर्घाखाँची, गुल्मी, स्याङ्जालगायतका जिल्लाका छन्। ‘अहिलेसम्म कोरोना संक्रमित भेटिएका जिल्लाको संख्या ४६ पुगेको छ,’ देवकोटाले भने।

हाल देशभर ५५ हजार दुई सय ८२ जना क्वारेन्टाइनमा छन्। त्यसैगरी आइसोलेसनमा पाँच सय २२ जना रहेका देवकोटाले जानकारी दिए।

पछिल्लो विवरणअनुसार ४३ जना नारायणी अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना संक्रमण निको भएर उनीहरू डिस्चार्ज भएका हुन्। अहिलेसम्म देशभरबाट एक सय ५५ जना डिस्चार्ज भइसकेका देवकोटाले जानकारी दिए।

डा. देवकोटाका अनुसार हाल कोरोना संक्रमणको रेडजोनमा रहेका नागरिकको संख्या चार सय ५५ छ।

You might also like

Comments are closed.