अर्थमन्त्री डा युवराज खतिवडाले आफ्नो तेस्रो बजेट बिहीबार (आज) दिउँसो ४ बजे प्रस्तुत गर्दैछन्। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारको आय र व्ययको विवरण प्रस्तुत गर्न लागेका हुन्।
कोरोना महामारीले थला परेको अर्थतन्त्रलाई गति दिने गरी आगामी बजेट प्रस्तुत हुने निजी क्षेत्र र आम जनताको अपेक्षा छ। बन्द भएका व्यवसायलाई पुनर्जीवित दिने, रोजगारी सिर्जना हुने कार्यक्रम तयार गर्ने, कृषिको व्यावसायीकरणका लागि आधारशिला तयार गर्ने, लगानी वृद्धि गर्ने तथा सीप विकासका कार्यक्रमसहित बजेट आउने अपेक्षा धेरैको छ। यसैगरी अर्थतन्त्रलाई पुनर्जीवित गर्ने गरी विशेष प्याकेजको अपेक्षा निजी क्षेत्रले गरेको छ।
स्रोतको ठूलो दबाबका बीच अर्थमन्त्री खतिवडाले चालु आर्थिक वर्षको तुलनामा केही ठूलो बजेटको तयारी गरेका छन्। मन्त्री खतिवडाले चालु आर्थिक वर्षको अन्त्यसम्ममा ९ खर्ब ५० अर्ब रूपैयाँ राजस्व संकलन हुने र आगामी वर्ष त्यसको २० प्रतिशत धेरै अर्थात् ११ खर्ब ४० अर्ब रूपैयाँको हाराहारीमा राजस्व संकलन हुने अनुमानसहित बजेट ल्याउन लागेका छन्। यसमध्ये १ खर्ब ३० अर्ब रूपैयाँ बाँडफाँटबाट तल्ला तहमा जाने भएकाले संघीय सरकारले १० खर्ब १० अर्ब रूपैयाँलाई बजेटको स्रोतको रूपमा देखाउनेछ।
यसैगरी ५० अर्ब रूपैयाँ अनुदान र ३ खर्ब ५० अर्ब रूपैयाँ वैदेशिक ऋण लिने गरी बजेटमा स्रोतको व्यवस्थापन गरिएको छ। त्यसका अतिरिक्त २ खर्ब १० अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने तयारी मन्त्री खतिवडाको छ। खतिवडाले १६ खर्ब २० अर्ब रूपैयाँ हाराहारीको बजेटका लागि स्रोत व्यवस्थापन गरेको स्रोतको दावी छ।
अर्थमन्त्री खतिवडाले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम यथावत् राखेका छन्। सांसद विकास कोषका नाममा विगतमा परिचित यो कार्यक्रम विवादित बनेको र अहिले आवश्यक नभएको भन्दै खारेजीको आवाज उठेको भए पनि अर्थमन्त्री खतिवडाले यसलाई निरन्तरता दिने भएका छन्। ‘कार्यान्वनको मोडालिटी परिवर्तन गर्ने गरी कार्यक्रम यथावत छ,’ स्रोतले भन्यो।
Comments are closed.