गृहमन्त्रीको ध्यानाकर्षण रुकुम घटनाका दोषीलाई कारबाही गर्ने
पश्चिम रुकुममा भएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै दलित राजनीतिक संघ, संगठन, सांसद, दलित नेता, अगुवा र दलित नागरिक समाजका प्रतिनिधिहरूले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
पश्चिम रुकुममा भएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै दलित राजनीतिक संघ, संगठन, सांसद, दलित नेता, अगुवा र दलित नागरिक समाजका प्रतिनिधिहरूले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । जातीय दमनका आधारमा सामूहिक हत्या भएको भन्दै न्यायिक छानबिन, पीडितलाई न्याय र अपराधीलाई हदैसम्मको कारबाहीको मागसहित आइतबार उनीहरूले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई ज्ञापनपत्र बुझाएका हुन् ।
उनीहरूले घटनामा मृत्यु भएकालाई सांस्कृतिक रूपान्तरण अभियानका सहिद घोषणा गर्नुपर्ने माग पनि गरेका छन् । घटनामा बेपत्ताको खोजी, घाइतेको उपचार तथा घटनाका साक्षीहरू र न्याय प्राप्तिको अभियानमा लागेका स्थानीय अभियन्ता र मृतकका परिवारको आवश्यक सुरक्षाको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन् । अकल्पनीय नरसंहार हुँदासमेत सरकारका जिम्मेवार पदाधिकारीहरूबाट घटनास्थलको भ्रमणसमेत नहुनुले दलित समुदायमाथि सरकारी बेवास्ता र अपमान भएको उनीहरूको आरोप छ ।
दलित नेता, सांसद र नागरिक अगुवाहरूले छुवाछुतमुक्त राष्ट्र घोषणा भइसकेपछि पनि १८ जनाभन्दा बढी दलितले जातीय विभेदकै कारण ज्यान गुमाएका तथा लकडाउनको अवधिमा मात्रै ३२ वटा घटना भएको उनीहरूको भनाइ छ । यसले नेपालको संविधान, जातीय छुवाछुत तथा भेदभाव कसुर र सजाय ऐन ०६८ लगायत प्रचलित ऐन कानुनहरू, मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रलगायतमा सरकारले गरेका प्रतिबद्धतामाथि चुनौती दिएको उनीहरूले बताएका छन् ।
रुकुम चौरजहारी नगरपालिका– ८, सोतीगाउँकी एक युवतीसँग प्रेमपश्चात् भगाएर विवाह गर्न गएका जाजरकोट भेरी नगरपालिका– ४ का नवराज विकसहित युवाहरूको समूहमाथि स्थानीयले आक्रमण गरेका थिए । सो आक्रमणपछि नवराज विक, टीकाराम विक, लोकेन्द्र सुनार, गणेश बुढामगर र सञ्जु विक गरी पाँचजनाको शव भेरी नदीमा भेटिएको छ भने गोविन्द शाही अझै बेपत्ता छन् । अन्य ११ जना घाइतेलाई परिवारको जिम्मा लगाइसकिएको छ । आक्रमणमा संलग्न १८ जना स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Comments are closed.