कस्तो अचम्म बिरामी मादल बजाउँदै, डाक्टर टाउको शल्यक्रिया गर्दै
बेडमा पल्टेका बिरामी पेटमा मादल राखेर एकोहोरो ताल मिलाउँदै ठोकिरहेका छन्। मादल बजाउनेका पछाडि जम्मा भएका डाक्टर समूहले उनको टाउको चिर्दै गरेको छन्
युट्युबमा दृश्य देखेरै अचम्म लागेको थियो।
सामुन्ने अपरेसन थिएटर छ। बेडमा पल्टेका बिरामी पेटमा मादल राखेर एकोहोरो ताल मिलाउँदै ठोकिरहेका छन्। मादल बजाउनेका पछाडि जम्मा भएका डाक्टर समूहले उनको टाउको चिर्दै गरेको देखिन्छ।
‘बजाउन सजिलो भयो?’ शल्यक्रिया गरिरहेका डाक्टर सोध्छन्।
मादल बजाइरहेका चर्चित मादलवादक खड्ग बुढा बजाइ नै रहन्छन्। एकछिनपछि बोल्न थाल्छन्, ‘अँ, अब सजिलो भयो।’
उनले जवाफ फर्काउनासाथ न्यूरोसर्जन वसन्त पन्तले ठ्याक्क त्यही विन्दुमा रोक्न लगाउँछन्। काम फत्ते हुन्छ।
‘यो मस्तिष्कको यस्तो समस्या हो,’ डा. पन्तले सेतोपाटीसँग भने, ‘मादलवादक नभएर सैलुन सञ्चालक भइदिएका भए हामीले कैंची चलाउन लगाएर अपरेसन गर्नुपर्थ्यो।’
यो रोगलाई ‘डिस्टोनिया’ भनिन्छ। वाद्यवादकलाई भएकाले ‘म्यूजिसियन स्क्र्याम’ भनियो। कपाल काट्नेलाई भए ‘बार्बर स्क्र्याम’ भनिन्छ।
‘अनि तपाईंहरूजस्तो लेख्ने मानिसलाई भइदिएको भए राइटर्स स्क्र्याम,’ डा. पन्तले भने।
डिस्टोनिया भएका वाद्यवादक बिरामीलाई विश्वका धेरै ठाउँमा वाद्ययन्त्र बजाउन लगाएरै टाउको शल्यक्रिया गरिएका थुप्रै भिडिओ फेला पर्छन्। नेपालमा पनि डिस्टोनियाको उपचार पहिलेदेखि हुँदै आएको हो। तर, यस किसिमको ‘टास्क स्पेसिफिक डिस्टोनिया’ का बिरामीलाई वाद्ययन्त्र बजाउन लगाएरै गरिएको यो पहिलो शल्यक्रिया भएको डा. पन्त बताउँछन्।
Comments are closed.