Nepal's First Video FM

मुटुको औषधि नपाएर क्वारेन्टाइनमै मृत्यु

एक वर्षदेखि मुटुको बिरामी रहेकी उनको नियमित खाने औषधि सकिएको १२ दिन भएको थियो ।

261

पुर्चौडी नगरपालिका–४ भटनाका हरिश लुहार श्रीमती सुनिता र डेढ वर्षका छोरासहित भारतको पन्जाबबाट जेठ १६ मा गौरीफन्टा नाका हुँदै घर फर्किए । उनीहरू तीनै जनालाई आइतबारदेखि गाउँकै मालिका माविको क्वारेन्टाइनमा राखिएको थियो । सोमबार साँझ २२ वर्षीया सुनिताले तीन पटक भित्र–बाहिर गरिन् । कोठामा आएर छट्पटाइन् । केहीबेरमै उनको ज्यान गयो ।

एक वर्षदेखि मुटुको बिरामी रहेकी उनको नियमित खाने औषधि सकिएको १२ दिन भएको थियो । काठमाडौंस्थित सहिद गंगालाल हृदय रोग केन्द्रका चिकित्सकको सिफारिसमा उनले औषधि खाँदै आएकी थिइन् । ‘भारतबाट काठमाडौंमै उपचार गराउने सोचेर फर्केका थियौं,’ हरिशले भने, ‘दिनको तीन पटक खाने औषधि १२ दिनअघि नै सकिएको थियो, औषधि नपाएरै ज्यान गयो ।’

उनका अनुसार सुनितालाई करिब एक वर्षअघि हिँड्दा श्वास फुल्ने समस्या देखियो । भारत उत्तराखण्डको पिथौरागढमा मजदुरी गर्ने हरिशले उपचारका लागि श्रीमतीलाई उतै लगे । त्यहाँका चिकित्सकले मुटुको भल्भमा समस्या भएको र शल्यक्रिया गर्नुपर्ने बताए । साढे ३ लाख भारतीय रुपैयाँ खर्च हुने बताइएपछि उनीहरू रकम अभावका कारण काठमाडौंतिर हानिए ।

गंगालाल अस्पतालमा दुई पटकसम्म उपचार गराउँदा चिकित्सकले रिपोर्ट सामान्य रहेको, तत्कालै शल्यक्रिया गर्नु नपर्ने भन्दै औषधि लेखेर पठाएका थिए । ‘तेस्रो पटक गंगालाल जानै पाइएन, सबथोक खत्तमै भइगयो,’ हरिशले भने । उनीहरू क्वारेन्टाइनमा बसेको तीन दिन मात्र भएको थियो । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, वडाध्यक्ष, जनप्रतिनिधि कोही पनि क्वारेन्टाइनमा नआएकाले औषधि सकिएको कुरा भन्न नपाएकोमा उनलाई पछुतो छ । फोन पनि बन्द भएकाले झन् समस्यामा परेको उनले दुखेसो पोखे ।

सात वर्षअघि पुर्चौडी मल्लादेहीकी सुनितासँग उनको बिहे भएको थियो । उनीहरुका दुई छोरी र एक छोरा छन् । दूधे बालकलाई काखमा राखेर श्रीमतीको मृत्युबारे सुनाइरहेका उनले नाबालक छोराका कारण झनै पीडा थपिएको बताए । ‘बच्चा आमा खोज्दै रोइराखेको छ, उसलाई के थाहा ? दूध खोज्छ, खै के भनौं,’ हरिशले लामो सास फेरे । अहिलेसम्म सुनिताको उपचारमा चार लाख खर्च भएको उनले सुनाए ।

भटना स्वास्थ्य चौकीका इन्चार्ज तथा क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी रोहितकुमार धानुकले पनि औषधि अभावमा सुनिताको मृत्यु भएको हुनसक्ने बताए । ‘१०/१२ दिनयता सुनिताले औषधि खान नपाएको बुझिएको छ,’ उनले भने, ‘औषधि खाइरहेको कुरा नभनेको र अन्य केही लक्षण नदेखिएकाले हामीहरूलाई पनि यसबारे जानकारी थिएन । एक्कासि छट्पटाएर मृत्यु भएपछि मात्र थाहा पायौं ।’

बिरामीको स्वास्थ्य रिपोर्ट हेर्दा मुटुको बाथरोग बुझिएको जिल्ला अस्पतालका डा. वसन्तराज जोशीले बताए । उनका अनुसार सुनिताले प्रयोग गर्ने औषधि बैतडीमा पाइदैन । हाल शवलाई क्वारेन्टाइनमै राखिएको छ । मृतकसहित उनका श्रीमान्, छोरा र उनीहरूसँगै बसेका एक पुरुषको पीसीआर परीक्षण गर्न स्वाव निकालेर धनगढी पठाइएको छ । पीसीआर रिपोर्ट आएपछि मात्र पोस्टमार्टम गरिने स्वास्थ्य कार्यालय प्रमुख योगेश भट्टले बताए ।

You might also like

Comments are closed.