स्वास्थ्यकर्मीमाथि ‘कोरोना फैलाउन आएको’ भन्दै कुटपिट
डोटीको शिखर नगरपालिका-९ दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेब रमेश कुँवरमाथि आक्रमण भएको छ। आक्रमण परि कुँवर गम्भीर घाइते भएका छन्।
डोटीको शिखर नगरपालिका-९ दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेब रमेश कुँवरमाथि आक्रमण भएको छ। आक्रमण परि कुँवर गम्भीर घाइते भएका छन्।
स्वास्थ्य सामग्री लिएर दानकोट स्वास्थ्यचौकी जाँदै गरेको बेला मंगलबार कुवँरमाथि आक्रमण भएको हो।
गाउँको बाटो हिँड्ने क्रममा मदिरा सेवन गरेका तीन जनाको समूहले ‘कोरोना फैलाउन आएको’ भन्दै आफूमाथि आक्रमण गरेको पीडित स्वास्थ्यकर्मी कुँवरले बताएका छन्। तीन व्यक्तिले गालीगलौज गर्दै कुँवरमाथि ढुंगामुडा गरेका जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिए।
आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले शिखर नगरपालिका–७ का नवीन खत्री, रोशन खत्री र तेज लुहारलाई पक्राउ गरेको छ। राससका अनुसार स्वास्थ्यकर्मीबाट कोरोना सल्किने भन्दै बिनाकारण आफूमाथि आक्रमण भएको घाइते स्वास्थ्यकर्मी कुँवरले बताएका छन्।
आक्रमणबाट गम्भीर घाइते भएका कुँवरलाई उपचारका लागि सुरुमा डडेलधुरा अस्पताल लगिएको थियो। तर, त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौँस्थित ट्रमा सेन्टर रेफर गरिएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले जानकारी दिए।
कुटपिटमा संलग्नलाई पक्राउ गरी आवश्यक कानूनी कारवाही अगाडि वढाइएको प्रहरीले जनाएको छ। कोभिड–१९ महामारी नियन्त्रणका लागि आफ्नो ज्यानको परवाह नगरी दैनिक नागरिकको सेवामा खटिएका स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको डोटीमा विरोध भएको छ।
नेपाल स्वास्थ्यकर्मी संघ डोटीले एक विज्ञप्ति प्रकाशित गरी घटनाको भत्सर्ना गर्दै दोषीलाई तत्काल कानूनी कारवाही गर्न माग गरेको छ।
Comments are closed.