Nepal's First Video FM

धनगढीकी महिलामा अन्त्येष्टि गरेपछि कोरोना पुष्टि

डायलाइसिस गर्ने क्रममा मृत्यु भएकी धनगढी उपमहानगरपालिका–४ की ५५ वर्षीया महिलाको अन्त्येष्टिपछि कोरोना संक्रमण पुष्टि भएको छ ।

81

डायलाइसिस गर्ने क्रममा मृत्यु भएकी धनगढी उपमहानगरपालिका–४ की ५५ वर्षीया महिलाको अन्त्येष्टिपछि कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा शुक्रबार मृत्यु भएकी उनको शनिबार बिहान धनगढीस्थित मोहना नदीमा अन्त्येष्टि गरिएको थियो । उता, २१ जेठको राति होम क्वारेन्टाइनमै रहेका वेला मृत्यु भएका डोल्पाको जगदुल्ला नगरपालिकाका ५८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण रहेको पुष्टि भएको छ ।

सेती अस्पतालमा मृत्यु भएकी महिलाको रिपोर्ट पोजेटिभ आएपछि आफन्त र स्थानीय बासिन्दा त्रसित बनेका छन् । उनको अन्त्येष्टिमा करिब ५० जना मलामी रहेको धनगढी उपमहानगरपालिका–४ का वडाध्यक्ष दीपक थापाले बताए । वडा नै सिल गरेर मलामी र मृतकको सम्पर्कमा रहेका व्यक्तिहरूको खोजी गर्न आग्रह गरिएको उनले बताए ।

ad
अस्पतालको डायलाइसिस सेन्टर पनि सिल गरिएको छ । स्वास्थ्य कार्यालय कैलालीले मलामीसँगै त्यसअघि मृतकको उपचारका क्रममा सम्पर्कमा रहेका व्यक्तिहरूको पनि खोजी थालिएको जनाएको छ । ती महिलासँगै अन्य तीनजनाको पनि डायलाइसिस भइरहेको थियो । त्यतिखेर तीनजना कुरुवा र सातजना कर्मचारीसमेत त्यहाँ रहेको सेन्टरका व्यवस्थापक दीपक भट्टले बताए ।

मृतक महिलाको थ्रोट स्वाबको रिपोर्ट नआउँदै डायलाइसिस सेन्टरले शुक्रबार नै शव आफन्तलाई बुझाएको थियो । आफन्तले अटोरिक्सामा राखेर शव घरमा पु¥याएका थिए । ‘स्वास्थ्यकर्मीले शव लैजान भनेपछि १२ बजेतिर ल्याएका हौँ । दिनभर पानी परेकाले हिजो (शुक्रबार) अन्त्येष्टि गर्न सकिएन,’ मृतक महिलाका देवरले भने, ‘आज (शनिबार) बिहान अन्त्येष्टि गर्र्यौँ, तर अहिले कोरोना संक्रमण रहेको भनियो ।’ परम्परागत संस्कारअनुसार शव जलाएर दाहसंस्कार गरिएको उनले बताए । डायलाइसिस सेन्टरको लापरबाहीले आफूहरू जोखिममा परेको उनको आरोप छ ।

डायलाइसिस सेन्टरले पोस्टमार्टमसमेत नगरी शव आफन्तको जिम्मा लगाएको थियो । सेन्टरका व्यवस्थापक भट्टले डायलाइसिस गर्नुअघि आरडिटी जाँच गर्दा नेगेटिभ देखिएकाले शव आफन्तलाई बुुझाइएको बताए । ‘आरडिटी नेगेटिभ आएको थियो । आफन्तले पनि बल गरेपछि शव बुझाउन बाध्य भएका हौँ,’ उनले भने, ‘आफन्तले त थ्रोट स्वाब पनि संकलन नगर्न भनेका थिए, हामीले आफ्नो सुरक्षाका लागि स्वाब संकलन गरेका हौँ ।’

धनगढीस्थित प्रयोगशालामा थ्रोट स्वाब जाँच गर्दा पोजेटिभ देखिएको उनले बताए । वीरांगना हेल्थ केयर नामक संस्थाले नेपाल सरकारसँगको सम्झौतामा सेती अस्पतालमा डायलाइसिस सेन्टर सञ्चालन गरिरहेको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार बिहान करिब ५ बजेतिर महिलालाई सेती अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उनलाई बिहान ११ बजे डायलाइसिसका लागि वार्डमा लगिएको थियो । डायलाइसिस सुरु गरेको पाँच मिनेटमै उनको मृत्यु भएको थियो ।

आफन्तहरूका अनुसार दुई वर्षदेखि मिर्गाैला रोगबाट पीडित मृतक महिलाको टिचिङ अस्पताल काठमाडौंमा दुई साता लामो उपचार गरिएको थियो । टिचिङले डिस्चार्ज गरेपछि एम्बुलेन्समा राखेर तीन दिनअघि मात्रै उनलाई घर ल्याइएको थियो ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.