सरकार भन्छ जोर बिजोर चलाऊ, तर प्रहरी भन्छ रोक्नुहोस
सरकारको निर्णय बिहीबार बिहानसम्म राजधानीकै प्रहरीसम्म पुगिसकेको छैन ।
बुधबार राति बसेको मन्त्रिपरिषद बैठकले लकडाउन खुकुलो पार्ने निर्णय गर्दै पसलहरु खोल्न दिने र सवारी साधनहरु जोर कि बिजोर प्रणालीका आधारमा चल्न दिने निर्णय गरेको छ । तर, सरकारको निर्णय बिहीबार बिहानसम्म राजधानीकै प्रहरीसम्म पुगिसकेको छैन ।
विहीबार बिहान प्रहरीले नयाँबानेश्वर संसद भवन अगाडि केही मोटरसाइकल र स्कुटीहरु नियन्त्रणमा लिएपछि सर्वसाधारण र प्रहरीवीच भनाभन भइरहेको थियो । प्रहरीहरुले माथिको आदेश भन्दै उनीहरुलाई गन्तव्यमा जान नदिई रोकेर राखेका थिए ।
मोटरसाइकल चालकहरु सरकारले पसल व्यवसाय चलाउन दिने र जोर कि बिजोर प्रणालीका आधारमा गाडी चल्न दिने भनेको बताउँदै थिए । तर, प्रहरी भने सरकारको निर्णय आफूहरुसम्म आइनपुगेको जवाफ दिइरहेका थिए ।
बुधबार राति अबेरसम्म बसेको मन्त्रिपरिषदले जनसरोकारको महत्वपूर्ण विषयमा निर्णय गरेको भएता पनि मन्त्रीहरु बैठकपछि घर–घरमा सुत्न गए । उनीहरुले सरकारको निर्णयको औपचारिक जानकारी मिडियालाई दिएनन् । राति एक मन्त्रीको जवाफ थियो, ‘अब भोलि दिउँसो मात्रै प्रवक्ताले पत्रकार सम्मेलन गरेर निर्णयबारे जानकारी गराउनुहुनेछ ।’
८० दिनसम्मको लकडाउनबाट उकुसमुकस भएको जनजीवन कतिखेर लकडाउन खुकुलो होला र काम गर्न पाइएला भन्ने चिन्तामा छ । तर, सरकारी अधिकारीहरुको काम गराइचाहिँ पुरानै पाराको छ ।
आज विहीबार जोर नम्बरका सवारी साधन चलाउन पाइन्छ कि बिजोर नम्बरका ? यो प्रश्न गर्दा एक ट्राफिक अधिकारी भन्छन्, ‘अब सरकारले जोर–बिजोर लागू गर्ने निर्णय गरेको भए, त्यो जनाकारी प्रहरीमा आउला, त्यसपछि बैठक बस्छ र कुन मोडालिटीमा जाने भन्ने टुंगो लाग्छ । त्यतिबेलासम्म हामीले जे गरिरहेका थियौं, त्यो जारी रहन्छ ।’
यसैवीच बिहीबार बिहानैदेखि काठमाडौंका सडक पेटीका पसलहरु खुल्न थालेका छन् ।
Comments are closed.