युरोपले ४० करोड डोज पाउने , कोरोनाविरुद्ध खोपको आशा
कोरोना भाइरसको खोप बन्ने कार्य पूर्ण नहुँदै युरोपका लागि इन्क्लुसिभ भ्याक्सिन अलायन्सले औषधि निर्माता कम्पनी अस्त्राजेनेकासँग सम्झौता गरेको छ ।
कोरोना भाइरसको खोप बन्ने कार्य पूर्ण नहुँदै युरोपका लागि इन्क्लुसिभ भ्याक्सिन अलायन्सले औषधि निर्माता कम्पनी अस्त्राजेनेकासँग सम्झौता गरेको छ ।
यो सम्झौताअनुसार खोप बनेपछि युरोपले ४० करोड डोज प्राप्त गर्ने जर्मन सरकारले जानकारी दिएको छ । अलायन्सको नेतृत्व जर्मनी, फ्रान्स, इटाली र नेदरल्यान्ड्सले गरिरहेका छन् ।
यो खोप युरोपेली संघका सदस्य देशलाई दिइनेछ । कम्पनीले खोपका उत्पादन बढाउने कोशिस भइरहेको र कोरोना महामारी नियन्त्रणका लागि यो खोप बिना नाफा नै आपूर्ति गरिने जनाएको छ ।
सो कम्पनीले यो वर्षको अन्त्यसम्ममा खोपको आपूर्ति सुरु हुने विश्वास व्यक्त गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी पास्कल सोरियोले भने, ‘यसबाट सही ढंगले अघि बढेमा युरोपका करोडौं मानिसले खोप पाउने निश्चित भएको छ । गर्मीयाम सकिने बेलासम्ममा हामीले यो विषयमा जानकारी पाउनेछौं ।’
पास्कल सोरियोले खोप बनाउनका लागि सुरुवाती तथ्यांकका आधारमा यो सफल हुने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार अलायन्सले युरोपेली आयोगसँग मिलेर सबै देशमा खोप पुर्याउन काम गर्नेछ ।
यो सम्झौता कति रकममा भयो भन्नेबारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन । यद्यपि इटालीको स्वास्थ्य मन्त्रालयको सुत्रका अनुसार यो सम्झौताका लागि जर्मनी, फ्रान्स, इटाली र नेदरल्यान्ड्सले रकम दिनेछन् भने अन्य राष्ट्रपनि सहभागी हुन सक्नेछन् ।
कोरोना भाइरसको नियन्त्रणका लागि अहिलेसम्म कुनै खोप बनेको छैन । यस्तो अवस्थामा यो खोप कति प्रभावकारी हुन्छ भन्नेबारेमा कुनै प्रमाण भने छैन ।
युरोपेली भ्याक्सिन अलायन्ससँगथ यसअघि अमेरिकाले अस्त्राजेनेसँग सम्झौता गरेको थियो । अमेरिकाले कम्पनीमा १ अब २ करोड डलर लगानी गर्नेछ र खोप बनेपछि उसले ३० करोड डोज प्राप्त गर्नेछ ।
बेलायतको अक्सफोर्ड विश्वविद्यालयले पनि कोरोना भाइरसविरुद्धको खोप निर्माणमा काम गरिरहेको छ । यसको लाइसेन्स बेलायती कम्पनी अस्त्राजेनेसँग छ ।
यसअघि खोपको नाम ChAdOx1 nCoV-19 राखिएको थियो । अब यसको नाम AZD1222 राखिनेछ ।
अक्सफोर्डले गत अप्रिलदेखि नै खोपको परीक्षण सुरु गरेको छ । पास्कल सोरियोका अनुसार खोपको प्रभाव र यसको सुरक्षाबारे गरिएको अध्ययनपछि ब्रिटिस मेडिसिन्स एन्ड हेल्थकेयर प्रोडक्टस् रेगुलेटरी एजेन्सीले खोपको तेस्रो चरणको परीक्षणको स्वीकृति दिएको छ ।
Comments are closed.