आजदेखि पठनपाठन रेडियो र टेलिभिजनमार्फत
कोरोना भाइरसका कारण विद्यालय जान नसकेका विद्यार्थीलाई लक्षित गरी सोमबारदेखि वैकल्पिक विधिबाट पठनपाठन गरिने भएको छ ।
कोरोना भाइरसका कारण विद्यालय जान नसकेका विद्यार्थीलाई लक्षित गरी सोमबारदेखि वैकल्पिक विधिबाट पठनपाठन गरिने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रेडियो तथा टेलिभिजनबाट पठनपाठन गर्न लागेको हो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक विष्णु अधिकारीले कक्षा १ देखि ८ सम्मको एनटिभी प्लसबाट बिहान १० देखि अपराह्न ३ बजेसम्म पाँच घन्टा पठनपाठन गर्न लागिएको बताए । कक्षा ९ र १० को रेडियो नेपालमार्फत पठनपाठन सुरु गर्न लागेको उनले बताए । त्यस्तै, कक्षा ९ र १० को अडियो–भिजुअल सामग्री डिसहोम, नेटटिभी र म्याक्स टिभीबाट दैनिक चार घन्टा प्रसारण हुँदै छ । टेलिभिजनहरूले अडियो–भिजुअल सामग्री निःशुल्क प्रसारण गर्न लागेका हुन् । उपमहानिर्देशक अधिकारीले सकेसम्म धेरैलाई पहुँच पु¥याउन खोजे पनि कतिले सेवा पाउँछन् भन्ने यकिन नभएको बताए ।
ad
रेडियोमार्फत पढाइ हुने पाठ १५ देखि २० मिनेट, भिजुअल सामग्री ३५ मिनेटको तयार गरिएको छ । कक्षा १ देखि ८ सम्मको दैनिक तीन विषय तथा ९ र १० को ६ विषय पढाइ गर्न लागिएको हो । केन्द्रले एक महिनाका लागि पठनपाठनको व्यवस्था गरेको जनाएको छ ।
केही दिनअघि शिक्षा मन्त्रालयले जारी गरेको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार केन्द्रले तयारी गरेको हो । १ असारबाट निर्देशिका कार्यान्वयन गराउन संघ, प्रदेश र स्थानीय तहलाई आग्रह गरिएको छ । मन्त्रालयले भर्खरै सार्वजनिक गरेको निर्देशिकामा विद्यार्थीलाई पाँच किसिमले वर्गीकरण गरी शैक्षिक गतिविधि गर्नुपर्ने उल्लेख गरेको छ ।
निर्देशिकाको बुँदा ६ ‘क’मा सबै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर रहेका विद्यार्थी समूहका लागि सम्बोधन गरेको छ । सो बुँदामा चालू शैक्षिक सत्रमा अध्ययन गर्ने कक्षा यकिन गरी पाठ्यपुस्तक उपलब्ध गराउने, केन्द्रले तयार पारेका सामग्री स्थानीय तहले छपाइ गरी अभ्यासपुस्तिका वितरण गर्नुपर्ने उल्लेख गरेको छ ।
त्यस्तै, समुदायमा रहेका सिकाइ केन्द्र वा विद्यालयमा एक–आपसमा भौतिक दूरी मिलाई श्रव्य–दृश्य प्रविधिमार्फत सिकाउने व्यवस्था गर्नुपर्ने उल्लेख छ । प्रविधिमा जोडिएकालाई प्रविधिको प्रयोग गरेर शैक्षिक गतिविधिमा संलग्न गराउनुपर्ने निर्देशिकामा व्यवस्था छ ।
निजी विद्यालयले भने आ–आफ्नै ढंगले अनलाइनमार्फत पठनपाठन गरिरहेका छन् । उनीहरूले कक्षाअनुसार अनलाइन पढाइ सञ्चालन गरेका छन् । त्यस्तै, प्याब्सनको पहलमा सबै विद्यार्थीलाई उपयुक्त हुने गरी टेलिभिजनबाट कक्षा सञ्चालन गरिँदै छ ।
Comments are closed.