फाल्गुन १२, लेकाली भेगमा हिमपात भए संगै जंगली जनावर र पंक्षीको चोरी शिकार तिव्ररुपमा हुन थालेको छ। हिउँमा फसेका मृग लगायत जनावर र चिसोले औल तिर झरेका पंक्षीहरुको शिकार गर्न सजिलो हुने भएकाले हिमपात पछि हिमाली गाँउपालीकाका बासिन्दाहरु हुल बांधेर शिकार खेल्न जाने गरेका छन्।
धेरै जसो गाँउपालीकाहरुमा बन्दुक, भाला, पासा, हंसिया, लाठी लगायत घरेलु हतियार र शिकारी कुकुर सहित मानिसहरु रतुवा, घोरल, झारल, थारल, बंदेल लगायत जंगली जनावर र डांफे, कालिज लगायत पंछिहरुको समुहमा शिकार गर्ने गरेको स्थानीयले बताएका छन्। हिमपात हुदां समुहमा शिकार गर्ने चलनलाई यहाँको भाषा अहेडा खेल्नु समेत भनिन्छ।
हिमाली भेगमा शिकारको सिजन सुरु भए संगै सदरमुकाम लगायतका बजारहरुमा डांफे लगायत विभिन्न जंगली जनावरको मासु सदरमुकाममा खुले आम विक्री भइरहेको पाईन्छ। जिल्लाको हिमाली क्षेत्र कांडा, सुर्मा, दौलिचौर, रिलु, दहवगर, लेकगाउ, मेलविसौना, कैलास,दहबगर, मौलाली, सैनपसेला, कोटदेबल तथा खप्तड राष्ट्रिय निकुञ्ज वरिपरिका क्षेत्र लगायतका ठाँउका वन क्षेत्रमा शिकार गर्ने काम भैरहेको बुझिएको छ।
सदरमुकाम लगायत आसपास क्षेत्रमा प्रति डांफे २ हजार ५ सय देखी ३ हजार ५ सय सम्ममा विक्रि हुने गरेको छ। १५ सय देखी १८ सय सम्म गाँउमै बेच्ने गरेको नाम नखुलाउने सर्तमा स्थानीय एक जना व्यापारीले बताए। यस्तै जंगली जनावर झारल, नाउर, रतुवाको मासु प्रतिकेजी १ हजार देखी १५ सय सम्म विक्रि हुने गरेको उनको भनाई छ। जंगली पंक्षी कालिज १५ सय देखी २ हजार सम्म विक्री हुने गरेको छ।
जिल्ला स्थित कर्मचारी देखि राजनैतिक दलका नेतालाई उपहार स्वरुप डांफें लगायत जगंली जनावरको मासु खुवाउने चलन रहेको छ। जिल्लामा ठुला नेता तथा कुनै राजनैतिक दलका प्रमुखहरु आउदा खुसियालीमा जंगली जनावर तथा पशुपन्छिलाई खुवाउने गरेको नाम नबताउने सर्तमा एक जना नेताले बताए।
दुई चार वर्ष पहिले हिमाली क्षेत्रमा गांउको नजिकै प्रशस्त भेटिने डाँफे लगायतका पंक्षी र जंगली जनावरहरु आज भोली मुस्किलले देखिने गरेको स्थानीयहरु बताउछन। ‘केही वर्ष पहिला सम्म हिउँ पर्दा मृग र डांफेहरु गांउमै आउथे’काँडाका बसन्त बहादुर बोहराले भने‘अहिले घण्टौ हिडेर लेक तिर गए पछि मात्र फाट्ट फुट्ट भेटिन्छ। प्रत्येक वर्ष मारेका छन। कति नै बाँकी रहलान् र ?’
शिकारीहरुले चैनपुरका होटल र पसलहरुमा जंगली जनावरको मासु र पंक्षीहरु ल्याउने र व्यापारीहरुले केही फाइदा खाएर सर्बसाधारणलाइ समेत बेच्ने गरेको व्यापारीहरु बताउछन्। हप्ताको दुई तिन दिन ५ देखी ७ वटा डाँफेहरु सदरमुकाम चैनपुरमा विक्री हुने गरेका समेत स्थानीय ब्यापारीहरु भनाई छ।
यता जिल्ला बन कार्यालयका रेन्जर सुरेन्द्र बहादुर कठायतले चोरी शिकारले डरलाग्दो रुप लिएका कारण यसलाई नियन्त्रण गर्न जिल्ला वन कार्यालयले विभिन्न खालका योजना बनाई रहेको बताए। ‘कुन कुन ठाँउमा शिकार हुन्छ। कुन नाका भएर ओसार पसार हुन्छ भन्ने कुरा हामीले पत्ता लगाइ सकेका छौ’ कठायतले भने‘ तत्कालका लागी प्रहरी संग समन्वय गरेर नियन्त्रणको प्रयास थाले पनि यसको दिर्घकालिन समाधान खोज्नुको विकल्प छैन’। उनले बन्यजन्तु सम्बन्धी हुने अपराध नियन्त्रण समितिको बैठक राखेर चोरी शिकार नियन्त्रणको लागी पहल भैरहेको बताए। यसको नियन्त्रणका लागी समुदाय तथा विद्यार्थीहरुलाई समेत सचेतना मुलक कार्यक्रमहरु संचान भई रहेको बताए।
Comments are closed.