Nepal's First Video FM

बाटोमा छैन जाँच, उपत्यकामा पास विना नै बसहरू भित्रिन थाले

पास विना नै यात्रुहरु बोकेर बस उपत्यका भित्रिन थालेको छ।

689

काठमाडौं उपत्यकामा पास विना नै बसहरू भित्रिन थालेका छन।

बाँके, कैलाली, झापा लगायतका स्थानबाट पास विना नै यात्रुहरु बोकेर बस उपत्यका भित्रिन थालेको छ।

पछिल्लो समय लामो दुरीबाट आएका ५ वटा बस चेकजाँचका क्रममा महानगरीय प्रहरी बृत थानकोटले नियन्त्रणमा लिएको छ। मंगलबार मात्र थानकोट प्रहरीले बाँके र कैलालीबाट काठमाडौं भित्रिन लागेको दुइटा यात्रुबहाक बस नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय पठाएको छ।

मंगलबार विहान कैलालीबाट आएको ना ५ ख २२८५ नम्बरको बस प्रहरीले नियन्त्रणमा लिएको डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए। सो बसले ७ जना यात्रु बोकर आएको थियो। मंगलबार नै कैलालीबाट १२ जना यात्रु लिएर आएको ना ६ ख १३४० नम्बरको बस नियन्त्रणमा लिएको छ।

सो बसले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट कृषि तथा पशुपन्छिजन्य कार्य गर्न भनि जारी भएको पास लिएको थियो। यसैगरी थानकोट प्रहरीले सोमबार बाँकेबाट ८ जना यात्रु बोकेर आएको माइक्रो, झापाबाट १९ जना यात्रु बोकेर आएको बस, झापाबाट आएको बस र नेपालगन्जबाट आएको एक बस पनि नियन्त्रणमा लिएको थियो।

बस नियन्त्रणमा लिएर चालक तथा यात्रुहरुलाई क्वारेन्टाइनमा पठाइएको प्रहरीले जनाएको छ। बस तथा माइक्रो चालकहरुले यात्रुहरुसँग बढी भाडासमेत असुलेको खुल्न आएको डिएसपी श्रेष्ठले बताए। यसरी लामो दुरीबाट आएको सवारी साधन बीच बाटोमा कहिँकतै जाँचमा नपरिकन नागढुंगासम्म आउनुलाई आश्चर्यजनक मानिएको छ।

पास विना सवारी काठमाडौं आउन खोजे बीच बाटोमा रहेको चेकिङहरुले कडाइ गरे ती यात्रुबहाक बस काठमाडौंसम्म आउन नसक्ने थानकोट प्रहरीले जनाएको छ।

झापादेखि काठमाडौं र बाँकेदेखि काठमाडौं आउने बसका चालकहरुले बाटोमा कहिकतै चेक नभएको बताएका छन। ‘बीच बाटोमा रहेको हाम्रा संयन्त्रले कडाइ गरे हामीलाई नागढुंगामा अन्य सवारी जाँच गर्न केही सहज हुने थियो,’ नागढुंगामा खटिएका एक प्रहरीले बताए।

You might also like

Comments are closed.