Nepal's First Video FM

काठमाडौं ९१ जना कोरोनाका संक्रमित पुष्टी,कुन कुन ठाउँको हुन्?विवरण सहित

324

काठमाडौं उपत्यकामा मंगलबारसम्म ९१ जना कोरोना संक्रमितको ‘एक्टिभ केस’ पुगेको छ।इपिडियोमोलिजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले अहिले काठमाडौंमा ९१ जना कोरोना संक्रमित रहेको जानकारी दिए।

उनीहरूको उपत्यकाकाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। संक्रमितहरूमा धेरैजसो विदेशबाट आएका छन्। केही संक्रमित भारतबाट आएको र केही काठमाडौंको पनि रहेको पाण्डेले जनाए।‘हामीले सबै संक्रमितहरूको प्रोफाइलिङ गर्ने काम गरिरहेका छौं। त्यसपछि उहाँहरूको सबै विवरण थाहा हुन्छ’ उनले भने। विदेशबाट आएका संक्रमितहरूमा कुवेतबाट आएका बढी छन्।सरकारले पछिल्लो समय विदेशमा अलपत्र परेका नेपालीहरूलाई ल्याउन थालेपछि केही व्यक्तिमा संक्रमण देखिएको हो।

काठमाडौंमा पनि संक्रमण बढ्दै गएपछि कन्ट्याक्ट ट्रेसिङको कामलाई पनि थप प्रभावकारी बनाइएको डा. पाण्डेले जनाए।‘हामीले काठमाडौं उपत्यकालाई विशेष ध्यान दिन्छौं, को स्वास्थ्यकर्मी कतिबेला खट्ने भनेर सबै सूची तयार पारेका छौं। त्यसमा विश्व स्वास्थ्य संगठनको सदस्य पनि हुनुहुन्छ,’ उनले भने।

महाशाखाकाले जिल्ला र स्थानीय तहहरूमा पनि कन्ट्याक्ट ट्रेसिङको टिम बनाएर ट्रेसिङ कार्यलाई थप व्यापक पार्ने जनाएको छ। डा. पाण्डेले जिल्लामा रहेका ट्रेसिङ टिमलाई तालिम दिन सातै प्रदेशमा टोली परिचालन गरिने जनाए।

स्वास्थ्य मन्त्रालयले पनि संक्रमण थप बढ्नसक्ने भन्दै कन्ट्याक्ट ट्रेसिङको कार्यलाई व्यापक बनाउने जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भन्छन्, ‘काठमाडौं जस्तो ठाउँमा पनि पोजेटिभ केसहरू देखिन थाल्यो। बाहिरबाट आएकाहरूबाट पनि संक्रमणको जोखिम हुने देखिएको छ। त्यसैले ट्रेसिङलाई व्यापक पार्ने भनिएको हो।’

उनले केही दिनमा दैनिक १० हजार बढी व्यक्तिको पिसिआर परीक्षण गर्ने तयारी रहेको जनाए। यसअघि स्वास्थ्य मन्त्री भानुभक्त ढकालले असार १५ देखि नै दैनिक १० हजार जनाको पिसिआर परीक्षण गरिने प्रतिवद्धता जाहेर गरेका थिए।

तर प्रवक्ता डा. गौतमले अहिले दैनिक ७ हजारको परीक्षण गरे त्यसले अहिलेको आवश्यकतालाई धान्ने भन्दै मन्त्रीको बचाउ गरेका थिए। अहिले फेरि उनले परीक्षण नपुग्ने भन्दै थप १० वटा प्रयोगशाला र निजी प्रयोगशालाहरूलाई पनि प्रयोग गरेर दैनिक १० हजार बढीको परीक्षण गरिने बताए।‘हिजो ७ हजार जनाको परीक्षण गर्दा पुग्छ भन्ने थियो तर अब पुग्दैन। बाहिरबाट पनि मनिसहरू आइरहेका छन्। त्यसैले हामी छिट्टै दैनिक १० हजार बढीको परीक्षण गर्दैछौं’ उनले भने

You might also like

Comments are closed.