आज हरिशयनी एकादशी अर्थात ठूली एकादशी । यस दिन हिन्दू धर्मावलम्बीहरुले औषधीय गुणयुक्त तुलसी रोपेर भगवान श्रीहरि अर्थात् विष्णुको पूजा-आराधना गर्ने गर्छन् ।
आषाढ शुक्ल पक्षको एकादशीलाई हरिशयनी एकादशी या देवशयनी एकादशी भनिन्छ । यस दिन नेपाल र भारत लगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले चतुर्मास व्रत प्रारम्भ गर्दछन् । साथै एक पर्वको रुपमा मनाउने गरिन्छ । हिन्दू धर्ममा यस दिनलाई अति विशिष्ठ र महत्वका साथ हेर्ने गरिन्छ । यस दिन नै घरघरमा तुलसी रोपेर आम हिन्दूहरुले चतुर्मास व्रतको आरम्भ गर्दै भगवान विष्णुको उपासना गर्ने गर्छन् ।
भनिन्छ- आजको दिनदेखि भगवान विष्णु चार महिनाका लागि क्षीर सागरमा सुत्न जानुहुन्छ । उहाँ चार महिनापछि हरिबोधनी एकादशीको दिन क्षीरसागरबाट उठनुहुने विश्वास गरिन्छ । पुराणहरूका मतानुशार भगवान विष्णु यस दिन देखि चार महिनासम्म (चातुर्मास) पातालमा राजा बलिको द्वारमा निवास गरेर कार्तिक शुक्ल एकादशीमा फर्कन्छन् । यही प्रयोजनले यस दिनलाई ‘हरिशयनी’ तथा कार्तिकशुक्ल एकादशीलाई ‘हरि प्रबोधिनी’ एकादशी भनिन्छ ।
Comments are closed.