Nepal's First Video FM

सिथिल अर्थ तन्त्र जोगाउन डा. स्वर्णिम वाग्लेलाई नेतृत्व दिए के होला?

3,230

मुलुकको अर्थतन्त्र समस्याग्रस्त छ । चालू आर्थिक वर्षमा ८ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको सरकार बजेटको मध्यावधि समीक्षामार्फत आधा घटाएर ४ मा झार्न वाध्य भयो । तर त्यो पनि पुरा नहुने भनेर राष्ट्रिय तथ्यांक कार्यालयले मंगलवार मात्रै सार्वजनिक गरिसकेको छ । तथ्यांक कार्यालयका अनुसार यो वर्ष २.१६ प्रतिशत मात्र आर्थिक वृद्धि हुनेछ । नेपाल राष्ट्र बैंकलगायत सरकारी अंगहरु अर्थतन्त्र केही स्लो भएको बताइरहेको छ भने सरकारबाहिर रहेकाहरु अर्थतन्त्र मन्दीमा गएको भनेर चिच्याइरहेका छन् ।

अर्थतन्त्र झन् झन् जर्जरमा फसिरहेको आभाष सर्वसाधारणहरुले गरिरहेका छन् । यसबेला नत अर्थमन्त्री नत प्रधानमन्त्रीले नीतिगत सुधारदेखि स्टीमुलस कार्यक्रम ल्याएका छन् नत उनीहरुसँग अर्थतन्त्र उकास्ने कुनै उपाय नै छ । अहिलेको अर्थतन्त्रको समस्यालाई उठाउन नत राष्ट्रिय योजना आयोगसँग योजना नै छ नत राष्ट्र बैंकसँग कुनै कार्यक्रम नै । यस्तो बेलामा धेरैको आशाको केन्द्रको रुपमा डा.स्वर्णिम वाग्ले मात्र देखा परेका छन् । मन्दीमा रहेको आर्थिक मन्दीलाई हटाउन कुशल नेतृत्वको आवश्यकता पर्छ नै ।

राजनीतिलाई कमाइखाने भाँडो बनाएकाहरु नेतृत्वमा पुगेकाले पुराना दलका नेताहरुसँग जनताले आशा मारिसकेका छन् । समस्याग्रस्त अर्थतन्त्र उकास्नका लागि स्वच्छ छवि, निडर, क्षमतावानदेखि विश्वजगत्मा ट्याकल गर्न सक्ने राजनीतिज्ञको आवश्यकता भइसकेको छ । अहिलेको अवस्थामा जर्जरमा रहेको अर्थतन्त्रलाई निकासदिन त्यसको उपयुक्त पात्र स्वर्णीम वाग्ले मात्र हुन सक्छ । विसं २०३१ सालमा गोरखामा जन्मिएका स्वर्णीम वाग्ले विगत दुई दशकदेखि नेपालभित्र र बाहिरको आर्थिक नीति बनाउनमा सक्रिय छन् । वाग्ले विसं २०७७ देखि २०७९ सम्म राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीको न्यूयोर्कस्थित मुख्यालयमा ३६ वटा देश हेर्ने एशिया–प्रशान्त क्षेत्रका प्रमुख आर्थिक सल्लाहकार थिए । त्यसअघि तीन वर्ष उनले नेपालमा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष एवं सदस्यका रूपमा काम गरेका थिए । योजना आयोगमा रहँदा वाग्लेले विसं २०७२ को महाभूकम्पपछि पुनर्निर्माणका लागि क्षति आंकलन गर्ने र उल्लेखनीय अन्तर्राष्ट्रिय सहयोग जुटाउने कार्यमा विशेष भूमिका खेलेका थिए ।

उनी नेपाल फर्कनुअघि विश्व बैंक र यूएनडीपीमा वरिष्ठ अर्थशास्त्री थिए । अहिले चाहिँ वाग्ले काठमाण्डू विश्वविद्यालयको सिनेट सदस्य एवं सर्वाङ्गीण विकास अध्ययन केन्द्र आईआईडीएसका अध्यक्षका रुपमा छन । यही उनको पोर्टफोलियो हेर्ने हो भने पनि उनी जत्तिको क्षमतावान व्यक्तिले मुलुकको अर्थतन्त्रलाई पार लगाउन नसक्लान् भन्न सकिदैन । त्यसो त, अवसर पाए स्वर्णिमले गर्छन भन्ने उदहारण महाभुकम्पको समयमा नै देखिएको थियो । वाग्लेको राजनीति विरासत हेर्ने हो भने नेपालको लोकतान्त्रिक आन्दोलनमा उनको परिवार विसं २०२७ देखि नै संलग्न रहेको थियो । विसं २०४२ सालको सत्याग्रहदेखि राजनीतिक रूपमा दीक्षित भएका थिए । नेपाली कांग्रेसका पूर्वमहासमिति सदस्य समेत रहेका वाग्ले विसं २०४६ को जनआन्दोलनमा पनि सहभागी भएका थिए । गोरखामा जन्मिएका वाग्लेले कक्षा ४ देखि बूढानीलकण्ठ स्कूलमा अध्ययन गरेका हुन ।

वाग्लेका भनाइमा उनलाई सानैदेखि अर्थशास्त्र अध्ययन गर्ने इच्छा थियो त्यसैले उनले एसएलसीपछि बूढानीलकण्ठमा सिनियर क्याम्ब्रिज पढ्दा पनि अर्थशास्त्र विषय लिने इच्छा गरे । आफू र आफ्नो एकजना साथी मात्र त्यसबेला अर्थशास्त्रका विद्यार्थी भएको र धेरैले अर्थशास्त्र नपढ्न सुझाएको उक्त अन्तर्वार्तामा उनले स्मरण गरेका छन । त्यसपछि उनी छात्रवृत्तिमा स्नातक पढ्नका लागि युकेको लण्डन स्कूल अफ इकनमिक्स पुगे । ब्रिटेनबाट स्नातक गरेका वाग्लेले अमेरिकाको हावर्ड विश्वविद्यालयबाट इन्टरनेशनल डेभलपमेन्ट अर्थात अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र अस्ट्रेलियन नेसनल विश्वविद्यालयबाट अर्थशास्त्रमै विद्यावारिधि गरे । विसं २०७९ र २०७४ को आम निर्वाचनका लागि वाग्लेले कांग्रेसको घोषणापत्र मस्यौदामा नेतृत्वदायी भूमिका निभाए ।

उपचुनावको मुखैमा स्वर्णिमले नेपाली कांग्रेससँगको सम्बन्धता टुटाएर नयाँ वैकल्पिक शक्ति रवि लामिछाने नेतृत्वको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीमै गएर तनँहु १ बाट निर्वाचित भए । वाग्लेले दातृ निकायहरुले समेत पत्याउने भएकाले अर्थमन्त्रीमा स्वर्णीम उपयुक्त हुन सक्छन् भनेर टिकाटिप्पणी हुन थालेका छन् । यतिबेला मुलुक अतिकम विकसित मुलुकबाट अल्पविकसित मुलुकमा स्तरोन्नति हुने प्रक्रियामा छ । नेपालले अति कम विकसित मुलुक हुँदासम्म धनी तथा विकसित मुलुकबाट आर्थिक सहयोग पाइरहेको थियो । विकसित मुलुकमा सामान निर्यात गर्दा छुुट तथा प्राथमिकता पनि पाइरहेको थियो । तर मुलुक अल्पविकसित मुलुकमा अपग्रेड हुने वित्तिकै यी सुविधाहरुबाट बञ्चित हुन थालेको छ । फलस्वरुप मुलुकमा अर्थतन्त्र विस्तारै समस्याग्रस्त हुन थालेको छ ।

अल्पविकसित मुलुकमा अपग्रेड भएपछि दातृ निकाय र विकसित मुलुकसँग कसरी आर्थिक सम्वन्ध कायम गर्ने र मुलुकलाई कुन दिशामा लाने भनेर जानकार नेपालमा कमै छ । ती कम संख्यामध्येका विज्ञ डा.स्वर्णिम वाग्ले हुन् । उनी विभिन्न देशका र दातृ निकायका आर्थिक सल्लाहकार भएका कारण मुलुकलाई कसरी अगाडि लाने भनेर बाटो देख्ने विज्ञ हुन् । यसर्थ मुलुकको आर्थिक स्तर उकास्न डा.स्वर्णिम वाग्ले नै आवश्यक छ ।

You might also like

Comments are closed.