फ़ल्गुन १२, राष्ट्रिय शहीद स्मारक सामुदायिक सेवा केन्द्रको नवौँ वार्षिक साधारणसभाले आगामी तीन वर्षे कार्यकालका लागि राजेशकुमार विष्टको संयोजकत्वमा नयाँ समिति गठन गरेको छ ।
आज यहाँ आयोजित केन्द्रको साधारणसभाले विष्टको संयोजकत्वमा २७ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्ष साविकको चार गाविस (जोरपाटी, कपन, गोकर्ण र बालुवा)बाट एक÷एकजना मिलन श्रेष्ठ, संगीता पन्त, शिव कारञ्जित र भागवत सापकोटा निर्विरोध निर्वाचित हुनुभएको छ । यस्तै सचिवमा गोपाल श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ ।
त्यसैगरी सदस्यमा शम्भु अधिकारी, प्रेस श्रेष्ठ, अंगुर पौडेल, लेखकुमारी पुडासैनीलगायत हुनुहुन्छ ।
साधारणसभाको उद्घाटन गर्दै काठमाडौँ क्षेत्र नं ३ का सांसद कृष्ण राईले शहीद स्मारक सम्पन्न गर्न केन्द्रको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
स्मारक निर्माणमा ढिलाइ भएको उल्लेख गर्दै उहाँले बाँकी समयलाई सदुपयोग गरेर छिटो काम सम्पन्न गर्न आग्रह गर्नुभयो । गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख शान्ति नेपालले स्मारक निर्माण सम्पन्न गराउन स्थानीय सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
स्मारकका अध्यक्ष सुदर्शन सिग्देलले दुई वर्षसम्ममा शहीद सङ्ग्रहालय, स्मृति भवन, शहीद पुस्तकालय, स्तम्भलगायत संरचना निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने बताउनुभयो । मन्त्रिपरिषद्को २०६४ जेठ ११ गतेको निर्णयाअनुसार विसं २००७ देखि २०६२÷६३ सम्मको आन्दोलनका शहीदको सम्झनामा स्मारक निर्माण गर्ने निर्णय गरेको थियो ।
शान्ति तथा पुनःनिर्माण मन्त्रालयअन्तर्गत सरकारी–सामुदायिक साझेदारीअनुसार नमूना आयोजनाका रुपमा स्मारक निर्माण भइरहेको छ । निर्माण व्यवसायीले काम ढिला गरेको स्मारक निर्माण कार्यदल कार्यसम्पादन समितिको भनाइ छ ।
Comments are closed.