फाल्गुन १२ ,नाइजेरियाको सेनाले अपहरित छात्राको उद्धार नगरेको आरोपको बिहीबार खण्डन गरेको छ । देशको उत्तरपूर्वी राज्य योबेबाट यसै हप्ताको सुरुमा बोको हरामद्वारा अपहरित छात्राहरूलाई सरकारी सेनाले उद्धार नगरेको आरोप लागेको छ । स्थानीय केही अनलाइन सञ्चार माध्यमहरुले ती अपहरित छात्रालाई सेनाले नै नियन्त्रणमा लिएर राखेको समाचार प्रकाशित गरेका थिए ।
सैन्य प्रवक्ता जोन अगिमले संचार माध्यमहरुले लगाएको आरोपको कतैबाट पुष्टि हुन नसक्ने दावी गर्नुभयो । उहाँले त्यस बारेमा आगामी दिनमा हस्तक्षेपकारी भूमिका खेल्ने पनि बताउनुभयो । योबे प्रदेशअन्तर्गत पर्ने डाप्छी भन्ने गाँउमा रहेको सरकारी छात्रा प्राविधिक क्याम्पसमा गत सोमबार भएको आक्रमणबारेमा नाइजेरियामा धेरै विवाद भएको छ ।
अधिकारीका अनुसार कम्तिमा ४६ जना विद्यार्थी अहिले सम्म पनि सम्पर्क विहिन रहेका छन् । सुरुमा क्याम्पसबाट ९४ जना भन्दा बढी छात्राहरु सम्पर्कबिहीन भएका थिए । अहिले सम्म हराएका र उद्धार गरिएका छात्राहरूका बारेमा सरकारी अधिकारीहरूले थप जानकारी दिन सकेका छैनन् ।
हराएका मध्ये २८ जनालाई मंगलबार र २० जनालाई बुधबार प्रदेश सरकारले फिर्ता ल्याएको जनाइएको छ ।
घटनाका बारेमा अनुसन्धान गर्न राष्ट्रपति मोहम्मद बुहारीले मन्त्रीपरिषद्का तीन जना सदस्यलाई बुधबार निर्देशन पनि दिनु भएको थियो ।
बुहारीले सरकारी सेना र अन्य सुरक्षा निकायहरूलाई पनि घटनास्थलमा सुरक्षा सतर्कता बढाउन र हराइरहेका विद्यार्थीको खोजी तथा उद्धार गर्न आग्रह गर्नुभएको सरकारका प्रवक्ताले जानकारी दिएका छन् ।
झण्डै चार बर्ष अगाडी पनि बोको हरामले २७६ जना छात्रालाई विद्यालयबाट अपहरण गरेको थियो । अपहरित मध्ये १७० जनालाई मात्रै उद्धार गरिएको थियो । (रासस)
Comments are closed.