काठमाडौं : सरकारले सार्वजनिक सवारी सञ्चालनका लागि अनुमति दिए पनि यातायात व्यवसायीहरुले भने सरकारले हचुवाको भरमा निर्णय गरेको भन्दै सरकारको निर्णय मान्न नसकिने स्पष्ट पारेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारले हचुवाका भरमा गरेको निर्णय आफूहरुले मान्न बाध्य नभएको बताए ।
उनले अहिले जिल्लामा मात्रै चलाउन नसकिने, कम्तिमा पनि प्रदेशस्तरमा चलाउन पाउनुपर्ने, स्वास्थ्य बीमाको ग्यारेन्टी गरिनुपर्ने, पहिले जोरबिजोर लागु गर्नुपर्नेसहित यसअघि आफूहरुले अघि सारेका मागहरु पहिला पूरा गरे मात्रै गाडी चलाउन सकिने बताए ।उनले नभए सरकारलाई साँचो बुझाउनुको कुनै विकल्प नभएको बताए ।
“अहिले बैंक किस्ता स्थगन हुनुपर्छ । ब्याज मिनाहा गर्न बैंक तयार हुनुपर्छ । पुनर्कर्जाको व्यवस्था हुनुपर्छ, स्वास्थ्य सामग्रीको व्यवस्था हुनुपर्छ,”सिटौलाले बाह्रखरीसँग कुरा गर्दै भने, “मुख्य नाका र बसपार्कमा सवारी निर्मलीकरणको लागि टनेलको व्यवस्था, चालक परिचालकको स्वतः कोरोना बीमाको व्यवस्था हुनुपर्छ । चालक परिचालकको स्वास्थ्य सामग्रीको व्यवस्था हुनुपर्छ । यात्रुको मास्क र पञ्जालगायतका सामग्रीको व्यवस्था हुनुपर्छ । बैंक वित्तीय संस्थाको किस्ता, चालक र परिचालकको खर्च उठ्ने वातावरण हुनुपर्छ । सवारी करमा छुट दिइनुपर्छ ।”
विदेशबाट नेपाली ल्याउँदा जहाज चढ्न पीसीआर चाहिने तर नेपालमा जिल्लाभित्रै गाडी चलाउँदा यात्रु र चालक तथा परिचालकको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी सरकारले लिइदिनुपर्ने बताए ।
“विदेशबाट नेपाली ल्याउँदा पीसीआर परीक्षण गरिएको हुनुपर्छ,” उनले भने, “सुविधासम्पन्न तरिकाले ल्याउँदा पनि चालकदलका सदस्यलाई कोरोना लाग्यो । यहाँ दैनिक गाडी चलाउने चालकको अवस्था के होला ? परिचालकको अवस्था के होला ? यसको जिम्मा कसले लिन्छ ? सरकारले ग्यारेन्टी नगरेसम्म हामी गाडी चलाउन सक्दैनौं ।”
उनले कम्तिमा पनि प्रदेशस्तरमा गाडी चलाउन दिइनुपर्ने बताए । उनले महासंघका २९४ वटै सदस्य तथा कम्पनी प्रालिलाई अहिले आफूहरुका माग पूरा नभएसम्म सवारीसाधन नचलाउन भनेको बताए ।
Comments are closed.