काठमाडौं : वीर अस्पतालले आइतबारदेखि पाँच सय जनासम्म कोरोना भाइरसको आशंका गरिएका व्यक्तिको नमुना परीक्षण गर्ने भएको छ ।

अस्पतालले नयाँ पीसीआर मेसिन ३४ लाखमा खरिद गरेसँगै पुरानो र नयाँ पीसीआरबाट दैनिक पाँच सयसम्म कोरोना परीक्षण गर्ने भएको हो । अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले नयाँ पीसीआर मेसिन बिहीबार जडान गरिएको जानकारी दिए । उनका अनुसार अब आइतबारबाट नयाँ पीसीआरको काम सुरु हुनेछ ।

“नयाँ र पुरानो गरेर मेसिनबाट आइतबारदेखि दैनिक पाँच सयवटा कोरोना भाइरसको आशंकामा आएका नमुना परीक्षण गर्न सकिन्छ,” उनले भने, “परीक्षणको संख्या पनि बढाउनुपर्ने भएकाले हामीले पीसीआर मेसिन थप्नुपरेको हो ।”

हाल अस्पतालमा दैनिक १५० वटासम्म पीसीआरको नमुना परीक्षण हुँदै आएको पनि उनले जानकारी दिए । उनले अस्पतालमा दैनिक तीन पटकसम्म कोरोना परीक्षण हुँदै आएको बताए । उनका अनुसार बिहान ११ बजेअघि नमुना परीक्षणमा राखेका बेलुकी ५ बजेसम्ममा रिपोर्ट आउँछ, तर बिहान ११ बजेपछि परीक्षणमा नमुना राखे दोस्रो दिनमात्र मात्र रिपोर्ट आउँछ ।

अस्पतालले अहिलेसम्म पाँच हजार सात सयजतिको कोरोना परीक्षण गरिसकेको सेन्चुरीले जानकारी दिए । सरकारले वीर अस्पताललाई निःशुल्क मात्रै होइन सशुल्कसमेत जाँच गर्न सक्ने अधिकार दिएको छ । सोहीअनुसार वीरले सशुल्क कोरोना परीक्षणसमेत गर्दै आएको छ ।