Nepal's First Video FM

पाँचसय स्वयंसेवक राष्ट्रिय मान्यताबाट वञ्चित

717

फाल्गुन १२, ललितपुर महानगरपालिकामा कार्यरत झण्डै ५०० स्वयंसेवक राष्ट्रिय मान्यताबाट वञ्चित भएका छन् ।

राष्ट्रिय मान्यता नपाउँदा सरकारले उपलब्ध गराउँदै आएको सामान्य सुविधाबाट समेत वञ्चित हुनुपरेको उनीहरुले बताएका छन् । स्वयंसेवकको सञ्जालका रुपमा रहेको ललितपुर स्वास्थ्य सञ्जालका अध्यक्ष पुरुषोत्तम कार्कीले महानगरपालिकामा तीन दशकभन्दा लामो समयसम्म काम गर्नेले समेत राष्ट्रिय मान्यता नपाएको बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “सरकारले दिएको जिम्मा पूरा गर्दागर्दै पनि हामीलाई मान्यता दिएको छैन ।”

महानगरपालिकामा अहिले झण्डै ६०० जना स्वयंसेवक कार्यरत छन् । तीमध्ये १३३ जनाले मात्रै मान्यता पाएका छन् । जिल्लामा १०० जना पुरुष स्वयंसेवक कार्यरत छन् । उनीहरु कसैले पनि मान्यता पाएका छैनन् । कार्की भन्नुहुन्छ, “सरकारको स्वास्थ्य कार्यक्रम सफल बनाउन जनताको घर–घरमा पुग्ने स्वयंसेवकलाई बेवास्ता भइरहेको छ ।

राष्ट्रिय मान्यता पाएका स्वयंसेवकले सरकारबाट प्रोत्साहनका रुपमा वार्षिक भत्ता, लुगा किन्न भत्ता, उपचार खर्च, सेवा निवृत्त भत्ता पाउँछन् । राष्ट्रिय मान्यता नपाएका स्वयंसेवकहरु यी सबैबाट वञ्चित छन् ।

सरकारबाट विभेद भए पनि काम नछाड्ने स्वयंसेवक बताउँछन् । उपमहानगरपालिका हुँदादेखि नै सञ्जालले स्वयंसेवकलाई मान्यता दिलाउनका पहल गर्दै आएको कार्की बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “जनप्रतिनिधि आएकाले अब हाम्रा कुरा सुनिने आशा छ ।”

यहाँ कार्यरत स्वयंसेवकले झण्डै चार वर्षदेखि तालीमसमेत पाएका छैनन् । (रासस)

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.