काठमाडौं : नेपाली कांग्रेसका संस्थापक एवं देशका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३८ औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । कोराइरालाको स्मृतिमा नेपाली कांग्रेस र उसका भातृ संगठनले विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।
विक्रमसम्बत १९७१ भदौ २४ गते जन्मेका कोइरालाको २०३९ साउन ६ गते क्यान्सर रोगसँग लड्दा लड्दै निधन भएको थियो । राजनीतिमा ‘बीपी’ र नेपाली साहित्यमा ‘विश्वेश्वर’को नामबाट परिचित कोइराला जहानियाँ राणा शासनविरुद्धको क्रान्तिका नायकका रुपमा परिचित छन् ।
कोइराला २०१५ सालको आम निर्वाचनमा नेपाली कांँग्रेसले दुई तिहाइ स्थान प्राप्त गरेपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री भएका थिए । तर राजा महेन्द्रले उनलाई अपदस्थ गरी निर्दलीय पञ्चायत ब्यवस्था सुरु गरेका थिए ।
त्यसपछि आठ वर्ष प्रवास र पुनः स्वदेश फर्केर पञ्चायतविरुद्ध लड्दा कठोर कारावास र संघर्षमै बीपीको जीवन बितेको थियो । विश्वेश्वरप्रसाद कोइरालाका नामले साहित्यमा परिचित उनले नेपाली साहित्य क्षेत्रमा निकै ठूलो योगदान गरेका छन् । उनका सुम्निमा, मोदी आइन्, तीन घुम्ती, नरेन्द्र दाइजस्ता कृतिहरु निकै चर्चित छन् ।
Comments are closed.