७ साउन , काठमाडौं : कोरोना भाइरसका कारण लामो समयबाट बन्द रहेको राष्ट्रिय फुटबल टिमको प्रशिक्षण आगामी भदौं १ गतेबाट संचालन गर्न सकिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भदौं १ बाट अन्तर्राष्ट्रिय खेलका प्रशिक्षण र प्रारम्भिक खेलहरु सञ्चालन गर्न अनुमति दिएको हो ।
सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा.युवराज खतिवडाले मंगलबार पत्रकार सम्मेलन गर्दै भदौं १ बाट अन्तर्राष्ट्रिय खेलका प्रशिक्षण र प्रारम्भिक खेलहरु सञ्चालन गर्न सकिने बताए । तर, स्विमिङ पुल, जिमखाना लगायत हेल्थक्लब, समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति भने अर्को सूचना नआएसम्मको लागि बन्द रहनेछ ।
सरकारको निर्णयसँगै विश्वकप छनौट खेलिरहेको राष्ट्रिय फुटबल टिमले भदौं १ बाट प्रशिक्षण गर्न पाउने भएको छ । छनौटमा अब नेपालले ३ घरेलु खेल खेल्न बाँकी रहेको छ । समूह बी को नेपालले अव खेल खेलिसकेको छ ।
अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग खेल्न बाँकी रहेको छ । एसियन फुटबल फेडेरेसन (एएफसी) ले छनौट अन्तर्गत बाँकी रहेको खेल अक्टोबर र नोभेम्बरमा गर्ने निर्णय गरिसकेको छ ।
सरकारले कोरोना संक्रमणको जोखिमलाई रोक्न गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो । त्यसयता सम्पूर्ण खेलकुद गतिविधि बन्द रहेको थियो । तर, सरकारले मंगलबार रातिबाट लकडाउन समेत अन्त्य भएको घोषणा गरेको छ ।
Comments are closed.