Nepal's First Video FM

कोरोना भाइरस ‘चमेरामा दशकौँदेखि थियो

478

कोभिड–१९ रोगको कारक मानिएको कोरोना भाइरस (सार्स–कोभ २) दशकौँदेखि चमेरामा रहँदै आएको हुन सक्ने देखाएको छ । हालै गरिएको अनुसन्धानको क्रममा सार्स–कोभ २ भाइरस अहिले पत्ता लाग्नुभन्दा ४० देखि ७० वर्षअघि नै चमेरामा आएको हुन सक्ने बताइएको छ । यो अवधिमा उक्त भाइरस चमेरामा नै रहेको र अहिले मानिसमा सरेको हुन सक्ने बताइएको छ ।

यसअघि शोधकर्ताहरुले यो भाइरसको उत्पत्तिको विषयलाई लिएर अफवाहहरु पनि चलिरहेको उल्लेख गरेका छन् । विशेषगरी यो भाइरस चिनियाँ प्रयोगशालामा निर्माण गरिएको हुन सक्ने भन्दै चीनमाथि अमेरिकाले आरोप लगाएको थियो । अहिलेको अध्ययनले उक्त अफवाहलाई अझै कमजोर साबित गरेको छ ।

नेचर माइक्रोबायोलोजी पत्रिकामा प्रकाशित यो अध्ययन गर्ने युनिभर्सिटी अफ ग्लासगोका प्राध्यापक डेभिड रोबर्टसनले महामारीको लागि जिम्मेवार पाइएको कोरोना भाइरस (सार्स–कोभ २) आनुवंशिकरुपमा चमेरामा पाइने भाइरससँग निकै मिल्दोजुल्दो पाइएको तर यसमा धेरै दशकको अन्तर रहेको बताएका छन् ।

उनी भन्छन्, ‘यसको अर्थ मानिसलाई संक्रमित गर्ने भाइरस केही समयदेखि मात्र देखिएको थियो ।’

‘हामीले यो भाइरस कहाँ र कसरी मानिसमा आयो भन्ने पत्ता लगाउनु जरुरी छ । हामीलाई अहिले यसको आनुवंशिक भाइरस चमेरामा पाइन्छ भन्ने थाहा भयो भने हामीले यसलाई अझ राम्रोसँग नियमन गर्न सक्छौँ’, उनले थपे ।

रोबर्टसनका अनुसार पछिल्लो समय मानिसहरुमा आइरहेका नयाँ रोगहरुको बारेमा थप जाँच गर्नु जरुरी छ । साथै भविष्यमा उत्पन्न हुन सक्ने महामारी नियन्त्रणको लागि धेरैभन्दा धेरै चमेराहरुको नमुना संकलन गरी अध्ययन गरी अनुसन्धान हुनुपर्ने उनको भनाइ छ ।

उनी भन्छन्, ‘यदि यो भाइरस दशकौँदेखि थियो भने उनीहरुलाई अर्को कुनै जनावरमा पनि यो भाइरस फैलाउने पर्याप्त मौका मिल्यो होला ।’

यो अध्ययनको लागि शोधकर्ताहरुले सार्स–कोभ २ भाइरसको जेनेटिक कोडको मिलान योसँग मिल्दोजुल्दो चमेरामा पाइने आरएटीजी–१३ सँग गरिएको थियो । शोधकर्ताहरुले यी दुवैको पूर्वज एकै रहेको पाएका थिए । तर, इभोल्युसनको प्रक्रियामा दशकौँ पहिला एकअर्काबाट छुट्टिएका थिए ।

युनिभर्सिटी अफ रिडिङका प्राध्यापक मार्क पेजल यो अध्ययनले अहिले मानिसमा संक्रमण फैलाइरहेको भाइरस ४० देखि ७० वर्षसम्म चमेरामा रहेको तर अहिलेसम्म पत्ता लगाउन नसकिएको बताएका छन् । यद्यपि उनी यो अध्ययनमा सहभागी भने थिएनन् ।

उनी भन्छन्, ‘यो अध्ययनबाट यो कुरा थाहा हुन्छ कि जनावरबाट मानिसमा हुने संक्रमणको दायरा कति ठूलो छ । अहिले पनि मानिसहरुमा सर्न सक्ने धेरै भाइरस जनावरको शरीरमा भएको र यो हामीलाई थाहा नभएको पनि हुन सक्छ ।’

 

You might also like

Comments are closed.