फाल्गुन १२, राष्ट्र निर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा सहयोगीको भूमिका निर्वाह गर्ने सैन्य प्रमुख शिवराम सिंह बस्नेतको २७१औँ जन्मजयन्तीका अवसरमा शनिबार आयोजित कार्यक्रममा वक्ताले नेपाल एकीकरणमा आफ्नो जीवन अर्पण गर्ने वीरलाई बिर्सन नहुने विचार व्यक्त गर्नुभयो ।
श्रीपाली बस्न्यात समाजले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा डा सुरेन्द्र केसीले अंग्रेजसँग लडेर वीरता हासिल गरेका नेपाली वीरको योगदानले नै नेपालको स्वतन्त्रता बाँच्न सकेको र पृथ्वीनारायण शाहको दूरदर्शिता तथा त्यसबेलाका भारदारको सहयोगले नै नेपाल एकीकरण भएको चर्चा गर्नुभयो ।
पूर्व राजदूत निरञ्जनमान सिंह बस्नेतले सिरान चौकको लडाइँमा वीर सैन्यका साथसाथै ११ वर्षको केटाले पनि तरवार समातेर युद्ध लडेको स्मरण गर्नुभयो ।
नेपाल खानेपानी संस्थानका अध्यक्ष सुरेशकुमार बस्नेतले नेपाल एकीकरणमा श्रीपाली बस्नेतको महत्वपूर्ण योगदान भएको बताउँदै इतिहासको अनुसन्धान गर्नुपर्ने विचार राख्नुभयो ।
वरिष्ठ पत्रकार श्रीराम सिंह बस्नेतले नेपाल एकीकरणमा बस्न्यातको पनि विशेष भूमिका भएकाले यसबारेमा सिक्का निकाल्ने, हुलाक टिकट प्रकाशन गर्नेतर्फ ध्यान दिनुपर्ने औँल्याउनुभयो ।
प्रा डा प्रेमसिँह बस्नेत, कृषि विज्ञ भोलामान सिंह बस्नेत लगायतका वक्ताले श्रीपाली बस्न्यातमा नौ थरी बस्नेत रहेको जानकारी दिँदै पृथ्वीनारायण शाहको दिव्य उपदेशको टिपोट गर्ने काम अभिमान सिँह बस्नेतले गरेको जानकारी दिनुभयो । रासस
Comments are closed.