Nepal's First Video FM

पशुपति क्षेत्रमा सांस्कृतिक र्‍याली गुरुयोजना खारेजीको माग

334

पशुपति क्षेत्र विकास कोषले स्थानीयवासी एवं तीनै तहका जनप्रतिनिधिसँग परामर्श नगरी दीर्घकालसम्म प्रभाव पार्ने गुरुयोजना प्रस्ताव गरेको भन्दै स्थानीयवासीले सांस्कृतिक र्‍यालीसहित विरोध प्रदर्शन गरेका छन् ।

विरोधस्वरुप आज बिहान पशुपतिको ट्याक्सी पार्कबाट–तिलगङ्गा–देउलाटोल–आँखा अस्पताल–गौशाला–रातोपुल–पनेको टोल–सिफलचौर–ताम्रेश्वर–नवालीटोल–जयवागेश्वरी–मित्रपार्क–कुटुबहाल–लामपोखरी–चन्द्रविनायक मन्दिर–चावहिल चोक–पीपलबोट–गौरीघाट–उमाकुण्ड–पशुपतिनाथको पश्चिम मूल ढोका–डठ्ठीटोल–जयवागेश्वरी हुँदै भुवनेश्वरी पार्क गरी गुरुयोजनाले प्रभाव पार्न लागेको सबै क्षेत्रमा सांस्कृतिक र्‍याली निकालिएको संयुक्त सङ्घर्ष समितिका संयोजक आशामान सँगतले जानकारी दिए । सांस्कृतिक वेषभूषासहित र्‍यालीमा सहभागी भएका स्थानीयवासीले गुरुयोजना तत्काल खारेज गर्न माग गरेका थिए ।

र्‍यालीमा वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य, काठमाडौँ महानगरपालिका– ७ का अध्यक्ष शुद्धकुमार डङ्गोल, वडा नं ८ का अध्यक्ष दीनेशकुमार डङ्गोल, वडा नं ९ का अध्यक्ष रामकृष्ण जयेखु श्रेष्ठलगायत वडामा निर्वाचित जनप्रतिनिधि, स्थानीय सङ्घसंस्था, क्लब, गुठीलगायत सदस्यको सहभागिता थयो । सहभागीले एक स्वरमा कोष सञ्चालक परिषद्ले २०७६ माघ १९ गते पारित गरी मन्त्रिपरिषद्मा पेश गरेको गुरुयोजनाको विरोध गरेका थिए ।

स्थानीयवासीको प्राचीनकालदेखिको बस्ती नाश गर्ने, स्थानीयवासीका चाड पर्व, धर्म संस्कृति पनि नष्ट हुने भएकाले गुरुयोजना खारेज हुनुपर्ने सहभागीको माग थियो । समितिलाई आइतबार बिहान १० बजे संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले वार्ताका लागि बोलाउनुभएको जानकारी पनि संयोजक सँगतले दिए ।

You might also like

Comments are closed.