फागुन १३, नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठकले आइतबार ‘काँग्रेस संसदीय दलको विधान, २०७४’ अनुमोदन गरेको छ ।
बैठकले नेता चीनकाजी श्रेष्ठको संयोजकत्वमा भीष्मराज आङ्दम्बे र नवीन्द्रराज जोशी सदस्य रहेको समिति गठन गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
काँग्रेसबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदको शनिबार बसेको संयुक्त बैठकले काँग्रेस संसदीय दलको विधान मस्यौदा सर्वसम्मतले पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाएको थियो ।
बैठक प्रारम्भ गर्दै सभापति शेरबहादुर देउवाले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको गम्भीर समीक्षा गरेर प्राप्त निष्कर्ष बमोजिम पार्टीलाई अघि बढाउने सन्दर्भमा आगामी बैठकमार्फत निर्णय गरिने जानकारी दिएका छन् ।
चौधौँ महाधिवेशनको माग
बैठकमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा पार्टी पराजयका कारण, काँग्रेस नेतृत्वको सरकारबाट भएका र पार्टी नेतृत्वका कमजोरी तथा आगामी दिनमा पार्टीमा गर्नुपर्ने सुधारका लागि सुझाव सहितको चार पृष्ठको लिखित प्रस्ताव राखेका छन् ।
पार्टीको महासमिति बोलाएर संघीय लोकतान्त्रिक गणतन्त्र अनुरुप नयाँ विधान पारित गरी पार्टीको संगठन तलदेखि माथिसम्म तत्काल बनाउन चौधौँ महाधिवेशनमा तुरुन्तै जानुपर्ने नेता पौडेलको प्रस्तावमा उल्लेख छ ।
प्रस्तावमा निर्वाचनमा काँग्रेसको पराजयको मुख्य कारण पार्टीको आन्तरिक शक्ति अत्यन्त कमजोर हुनुलाई औँल्याइएको छ भने दुई कम्युनिष्ट दलको गठबन्धनलाई सहायक कारण भनिएको छ । उक्त प्रस्ताव सम्बन्धमा बैठकमा छलफल नभएको प्रवक्ता शर्माले जानकारी दिए ।
शपथपछि नेता चयन
काँग्रेसले बहुदलीय संसदीय शासन प्रणालीमा सांसद पद तथा गोपनीयताको शपथ ग्रहण नगरी कुनै पनि सदस्य संसदीय दलको नेता वा कार्यसमिति सदस्य हुनयोग्य नहुने निष्कर्ष निकालेको छ ।
काँग्रेसले सांसदको शपथ नगराई प्रधानमन्त्री बनाउन हतारो गरेजस्तो नगर्ने निष्कर्ष निकाल्दै सांसदको शपथपछि मात्र संसदीय दलको नेता वा कार्यसमिति चयन गर्ने प्रवक्ता शर्माले बताए । संघीय संसद्को बैठक यही फागुन २१ गतेका लागि बोलाइएको छ ।
महामन्त्री डा. शशांक कोइरालाले बैठकमा आफूले संसदीय दलको नेता सर्वसम्मत चयन गर्न सुझाव दिएको जानकारी दिए । बैठकमा बोल्ने अधिकांश सदस्यले निर्वाचनमा पार्टीले सोचेअनुरुपको परिणाम नआई कमजोर भएको परिस्थितिमा संसदीय दलको नेताका लागि निर्वाचन नभई सर्वसम्मत रुपमा गर्नुपर्ने सुझाव दिएका थिए ।
बैठकले काँग्रेस सभापति देउवा नेतृत्वको सरकारले संविधानबमोजिम राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि गरेको सिफारिसलाई राष्ट्रपतिले अनुमोदन नगरेकामा आपत्ति जनाउँदै संविधानको उल्लङ्घन भएको निष्कर्ष निकालेको छ ।
बैठकमा केन्द्रीय सदस्य डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा मीनेन्द्र रिजाल, डा प्रकाशशरण महत, दिलेन्द्रप्रसाद बडू, अर्जुनप्रसाद जोशी, भीष्मराज आङ्दम्बे, आनन्दप्रसाद ढुंगाना, नवीन्द्रराज जोशी, चन्द्र भण्डारी, धनराज गुरुङ, पुष्पा भुसाल, मीन विश्वकर्मा, सीता गुरुङ, चीनकाजी श्रेष्ठ, रामकृष्ण यादव, मोहनबहादुर बस्नेत, विश्वप्रकाश शर्मा, रमेश लेखक र आमन्त्रित केन्द्रीय सदस्य कुमार खड्काले आ-आफ्ना धारणा राखेका थिए । रासस
Comments are closed.