फिलिपिन्समा भएको दुई वटा छुट्टाछुट्टै बम विस्फोटमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । फिलिपिन्सको दक्षिणी क्षेत्र सुलु प्रान्तको जोलो सहरमा गराइएको विस्फोटमा परी ६ जना सैनिक र ५ जना सर्वसाधारणको मृत्यु भएको हो । विस्फोटमा परी कम्तीमा ४० जना घाइते भएका छन् । जोलोको मुख्य सडकमा घरमै बनाइएको बम मोटरसाइकलमा जडान गरेर विस्फोट गराइएको प्रहरीले जनाएको छ ।
विस्फोटबाट केही पसल र सेनाको दुई वटा ट्रकमा समेत क्षति पुगेको छ । एउटा बिस्फोट भएको केही क्षणमा अर्को विस्फोट गराइएको हो । पहिलो विस्फोटमा पाँच सैनिक र चार सर्वसाधारण र दोस्रोमा एक सैनिक र विस्फोट गराउने महिलाको ज्यान गएको छ । सुलु प्रान्तमा इस्लामिक स्टेटसँग सम्बन्ध भएको भनिएको ‘अबु सैयफ’ विद्रोही समूहको प्रभाव रहेको छ । विस्फोटको जिम्मा कुनै समूहले लिएको छैन ।
Comments are closed.