Nepal's First Video FM

बागलुङ बाढी अपडेटः १४ जनाको शव फेला, ३७ बेपत्ताको खोजी जारी

323

बागलुङ- बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति गएको बाढीपहिरोमा बेपत्ता भएकामध्ये १४ जनाको शव फेला परेको छ ।
नगरपालिकाको ७, ८ र ९ वडाको तटीय वस्तीमा भूजी खोलाको बाढी पस्दा अरू ३७ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बेपत्ताको सङ्ख्या अझ बढ्न सक्ने अनुमान प्रहरीको छ ।
फेला परेको शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिए ।
बेपत्ता भएकामध्ये ११ शव घटनास्थल आसपासमै र ३ वटा गुल्मीको बढीघाट खोलामा फेला परेको छ ।
मुसिकोट नगरपालिका –५ इन्द्रेगौँडा ७ को सुदी र चन्द्रकोट गाउँपालिका –८ तीनसिमलस्थित बढिघाट खोला किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदार पन्थले जानकारी दिए ।
बढीघाट खोलामा ठूलो बाढी आएपछि स्थानीयवासीले बगाएर ल्याएको दाउरा सङ्कलन गर्ने क्रममा किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
फेला परेका शवमध्ये एक बालक र अन्य दुई जना अन्दाजी ३५/४० वर्षीया महिला भएको प्रहरीले जनाएको छ ।
बाढीले ३१ घरमा पूर्ण क्षति पुर्याजएको छ । घटना स्थलमा नेपाल प्रहरी र नेपाली सेनाले उद्दार गरिरहेको छ । घटनामा हालसम्म चार जना घाइते भएको प्रहरीको भनाइ छ ।

You might also like

Comments are closed.