काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभाको सदस्य बन्ने निश्चित भएको छ ।
राष्ट्रपतिले मनोनित गर्ने एक पदमा गौतमलाई गत फागून १४ सचिवालय बैठकले गरेको निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सहमत भएका हुन् ।
योसँगै उपाध्यक्ष गौतम राष्ट्रिय सभा सदस्य बन्ने पक्का भएको हो । उनी यसअघि प्रत्यक्ष निर्वाचन हारेका नेकपाका नेतासमेत हुन् ।
सचिवालयको बिहीबारको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने बताएका थिए । राष्ट्रपतिबाट मनोनित गर्ने एक पद राष्ट्रियसभामा रिक्त छ।
पार्टी प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतम पार्टी निर्णयअनुरूप राष्ट्रियसभा सदस्य सिफारिश हुने बैठकलाई जानकारी गराएका थिए ।
यस्तै बैठकमा प्रतिवेदनमा छलफल गरी ठोस कार्ययोजना बनाई प्रस्ताव प्रस्तुत गरिने निर्णय भएको उनले ट्वीटरमार्फत जानकारी दिएका छन् ।
गौतम राष्ट्रियसभा सदस्य बन्ने पक्कापक्की भएसँगै डा.युवराज खतिवडा अर्थमन्त्रीका रूपमा नरहने पनि निश्चित भएको छ । उनको कार्यकाल यही भदौ २० सकिदैछ । राष्ट्रियसभाको कार्यकाल सकिएपछि पनि संसद सदस्य नरहेकै अवस्थामा उनी ६ महिनादेखि अर्थमन्त्रीको जिम्मेवारीमा थिए ।
You might also like
Comments are closed.