फागुन १४, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकार विस्तारका विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको भेटवार्तामा अध्यक्ष दाहालले पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम समेत प्रधानमन्त्रीलाई बुझाएका थिए ।
अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव जोखबहादुर महराका अनुसार सोमबार अपराह्न ४ बजे मन्त्रीको शपथ ग्रहण गराउने तयारी भएकाले पार्टीको तर्फबाट मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाइएको छ ।
माओवादी केन्द्रले नेता रामबहादुर थापाको नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको छ । माओवादी केन्द्रका अनुसार सबै प्रदेशको प्रतिनिधित्व र कार्यक्षमता प्रदर्शन गर्न सक्नेलाई मन्त्रिमण्डलमा पठाइएको छ ।
प्रधानमन्त्रीलाई पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम बुझाइएको भएपनि प्रमुख स्वकीय सचिव महराले भने नाम सार्वजनिक गर्न चाहेन । उनले भने, “सबै वर्ग, क्षेत्र तथा कार्यक्षमता हेरेर पार्टीले निर्णय गरेको छ । शपथ ग्रहण समारोहमा नै नाम सार्वजनिक भइहाल्छ ।”
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दोस्रोपटक मन्त्रिमण्डल विस्तार गर्न लागेका छन् । यही फागुन ३ गते ओली नेतृत्वमा वाम गठबन्धनको सरकार गठन भएको थियो ।
प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले सरकार विस्तारका विषयमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीचमा छलफल भएको जानकारी दिए । राष्ट्रपति कार्यालयले सोमबार अपराह्न ४ बजे शपथ ग्रहणको तयारी गरेको छ ।
Comments are closed.