Nepal's First Video FM

स्थगनको डेढ महिनापछि नेकपाको स्थायी कमिटी बैठक, कार्यदलको प्रतिवेदनमा छलफल हुने

491

काठमाडौँ- आन्तरिक विवादपछि स्थगित भएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक डेढ महिनापछि फेरि बस्ने भएको छ ।

गत साउन १३ देखि अनिश्चित बनेको स्थायी कमिटी बैठक भदौ २६ मा बोलाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सहमत भएका छन्।

सोमबार बिहान महासचिव बिष्णुप्रसाद पौडेलसहित अध्यक्षद्वय ओली र दाहालबीच भएको छलफलले बैठक बोलाउने सहमति गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

गत असार १० गते शुरु भएको स्थायी कमिटी बैठक आन्तरिक विवादकै कारण स्थगित हुँदै आएको थियो ।

नेतृत्वको कार्यशैली र सरकार सञ्चालनमा असहमती जनाउँदै बहुसंख्यक स्थायी कमिटी सदस्यले ओलीको राजीनामा मागेपछि बैठक भाँडिएको थियो ।

विवाद उत्कर्षमा पुगेपछि महासचिव पौडेलको संयोजकत्वमा कार्यदल गठन गर्दै विवाद हल गर्ने प्रयास भएको थियो । उक्त कार्यदलले भदौ ६ मा बुझाएको प्रतिवेदनले ओलीलाई महाधिवेशन नभइन्जेल दुबै पदमा र दाहाललाई पूर्ण कार्यकारी अधिकारसहितको जिम्मेवारी दिन सुझाव दिएपछि तत्काललाई विवाद हल हुने ठानिएको छ ।

कार्यदलले सुझाव प्रतिवेदन पेश गरेपछि नेकपाको सचिवालय बैठक समेत बसिसकेको छ। १८ भदौको सचिवालय बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने निर्णय गरिसकेको छ।

अब स्थायी कमिटी बैठकमा कार्यदलको प्रतिवेदनमाथि छलफल ‍हुनेछ । त्यसअघि ओली र दाहालबीच ठोस सहमति जुटाउने तयारी छ ।

You might also like

Comments are closed.