काठमाडौँ- गत बिहीबार रातो मच्छिन्द्रनाथ रथयात्रा विवाद र झडपपछि पक्राउ गरिएका सात जनालाई प्रहरीले सोमबार रिहा गरेको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरबाट तीन जना आइतबार रिहा भएका थिए ।
यही भदौ १८ गते रातो मच्छिन्द्रनाथको रथयात्रा झडपमा स्थानीयवासी र प्रहरीबीचको विवादमा पक्राउ परेका २० मध्ये ७ जनालाई सोमबार रिहा भएको परिसर ललितपुरका प्रवक्ता सन्तोष तामाङले बताए ।
उनले भने, ‘हामीले रथयात्रामा झडप गर्ने सहभागीमध्येका कूल २० जनालाई समातेका थियौँ । तीनमध्ये १७ जनालाई मुद्दा चलाइएको छ ।
ती १७ मध्ये सोमबार छाडिएका छ जनामा कोरोना पोजेटिभ र एकमा मानसिक समस्या देखिएकाले सोमबार उपचारको प्राथमिकतामा राखेर हाजिरजमानीमा छाडेका हौँ ।’ यसमा बाँकी अन्य १० भने हिरासतमै रहेको जनाइएको छ ।
रथयात्रामा पक्राउ परेका सबैलाई छाड्न अपिल गर्दै सोमबार केही जनताले जिल्ला प्रशासन कार्यालय ललितपुर घेराउसमेत गरेका थिए ।
प्रशासनले गत शनिबारदेखि आउँदो शुक्रबारसम्म ललितपुरका केही स्थानमा पाँचभन्दा बढी मानिस जम्मा हुन नपाउने विज्ञप्ति जारी गरेसँगै आज उक्त घेराउ गर्नेहरुलाई प्रहरीले हटाएको थियो ।
Comments are closed.