Nepal's First Video FM

१ नं. प्रदेशको राजधानी र नामकरण छिट्टै हुने : मुख्यमन्त्री राई

945

फागुन १४, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको राजधानी र प्रदेशको नामकरण छिट्टै गरिने बताएका छन् । मुख्यमन्त्रीमा निर्वाचित भएपछि सोमबार पहिलोपल्ट प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

नयाँ पूर्वाधार नयाँ संरचना खडा गर्दै जाने र विकास तथा समृद्धिका प्रतिबद्धतालाई पूरा गर्ने दायित्व प्रदेश सरकारको काँधमा रहेको स्पष्ट पार्दै उनले भने, “भ्रष्टाचारमुक्त समाजको निर्माण, दण्डहीनताको अन्त्य र अपराधजन्य घटना रोक्नका लागि शून्य सहनशीलता अपनाउने निर्णय गरिनेछ ।”

नागरिकको सम्मान र सुशासनका लागि नागरिकसँग प्रहरी कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गर्ने जानकारी गराउँदै मुख्यमन्त्री राईले भने,“एक महिनाभित्रमा प्रहरीको टोलीले प्रत्येक घरको मूलद्धारमा स्टिकर टाँस्ने र सो स्टिकरमा स्थानीय, इलाका र जिल्ला प्रहरीका महत्वपूर्ण टेलिफोन वा मोबाइल नम्बर समेत समावेश गरिने छ ।” मन्त्रिमण्डल विस्तारको सम्बन्धमा मुख्यमन्त्री राईले भने, “आर्थिक अवस्थालाई हेक्का गरेर चुस्त दुरुस्त मन्त्रिमण्डल बनाइनेछ ।”

सरकारको नीति तथा कार्यक्रम अन्तर्गत ‘आफ्नो बाटोमा आफैँ हिँड्ने नीति अनुरुप’ सय दिनको कार्यलाई प्राथमिकतामा राखेर आ–आफ्ना जिल्ला र क्षेत्रको महत्वपूर्ण कार्यमा केन्द्रित हुन प्रदेशसभा सदस्यलाई आह्वान गर्दै उनले प्रदेश नं १ लाई नमूना प्रदेश बनाउनका लागि आगामी ५ वर्षको कार्ययोजना तयार गरी कार्य गरिने जानकारी गराए ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.