Nepal's First Video FM

अभिनेत्री निरुता सिंहले जन्मदिनमा के भनिन !

420

कुनै समय नेपाली फिल्ममा एकलौटी राज गरेकी अभिनेत्री निरुता सिंह शनिवार आफ्नो ४८औं जन्मदिन मनाउँदैछिन् । सन् १९७२ सेप्टेम्बर २६ तारिखका दिन भारतको, दार्जिलिङमा जन्मिएकी उनले तुलसी घिमिरे निर्देशित फिल्म ‘दक्षिणा’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी हुन् । पहिलो फिल्म नै बक्सअफिसमा सफल भएपछि उनी सर्वाधिक डिमान्डेड अभिनेत्री बनेकी थिइन् ।

आफ्नो अभिनय करिअरमा सर्वाधिक सफल फिल्म दिने अभिनेत्री हुन्, निरुता । तुलसी घिमिरे निर्देशित फिल्म ‘दर्पण छाँया’ को सफलतापछि करिअरको उत्कर्षमा पुगेकी उनको ‘मनमन्दिर’, ‘बन्धकी’, ‘दुई किनारा’, ‘आमाको काख’, ‘आफन्त’, ‘माइली’, ‘सन्तान थरी थरीका’, ‘ठुल्दाई’, ‘अजम्बरी नाता’, ‘नाता रगतको’, ‘लहना’ लगायत दर्जनौं फिल्म सुपरहिटको सूचीमा छन् ।

एक समय निरुताले चल्तीका हिरो बराबर पारिश्रमिक लिने गरेको चर्चा हुने गर्थ्यो । आफ्नो स्टारडमले फिल्म सफल बनाउन सक्ने ल्याकत उनमा थियो । यसकारण पनि निर्माता तथा निर्देशकहरु उनले डिमान्ड गरे जति पारिश्रमिक दिन तयार हुन्थे र उनकै लागि महिनौं कुर्ने गरेका थिए । पर्दामा दर्शकहरुले राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ, दीलिप रायमाझीसँग उनको जोडी बढी रुचाएका थिए ।

नेपाली फिल्ममा व्यस्तता कम नहुँदै भारतको मुम्बई हानिएकी उनी करीब एक दशक त्यतै बसिन् । त्यो समयमा उनलाई फिल्ममा फर्काउन धेरै निर्माता तथा निर्देशकले प्रयास गरेका थिए । नेपाली फिल्ममा उनका गडफादर भनिने तुलसी घिमिरेले पनि निरुतालाई ‘दर्पण छायाँ २’ बाट कमब्याक गराउन खोजेका थिए । तर, उनले व्यस्तताको कारण देखाउँदै फिल्म गरिनन् ।

दुई वर्ष अगाडि एक अवार्ड कार्यक्रममा सहभागी हुन नेपाल आउने क्रममा उनी विकासराज आचार्य निर्देशित फिल्म ‘नाईं नभन्नू ल ५’ मा काम गर्न राजी भएकी थिइन् । यो फिल्ममा उनको केमियो भूमिका थियो । तर, छोटो भूमिका भए पनि उनको अभिनयले दर्शकको मन जितेको थियो । यसपछि उनको नेपाली फिल्मका लागि बाटो खुल्यो र पुनः फिल्ममा उनको माग बढेको छ ।

‘नाईं नभन्नू ल ५’ पछि उनले ‘दाल भात तरकारी’ मा मुख्य भूमिकामा अभिनय गरिन् र फिल्म ‘क्याप्टेन’ को ‘कर्ली कर्ली कपाल’ बोलको गीतमा ठुम्का लगाइन् । यसपछि भने उनले कुनै फिल्म साइन गरेकी छैनन् । अहिले उनीसहित दीलिप रायमाझी र उत्तम प्रधान ‘दर्पण छायाँ’ को सिक्वेलको तयारीमा छन् । स्थिति सामान्य भएपछि फिल्मको छायांकन सुरु हुने बताइएको छ ।

भारतीय नागरिक भएका कारण निरुता भारतको स्वतन्त्रता दिवसलगायत अन्य महत्त्वपूर्ण दिनहरुमा सामाजिक सञ्जालमा विभिन्न पोस्टहरु गर्ने गर्दछिन् । तर, नेपाली दर्शकहरुले उनलाई नेपाली भएर भारतको गुनगान गाएको भन्दै अशिष्ट गालीगलौज गर्ने गरेका छन् । कतिपयले उनलाई ‘धोती-धोतिनी’ समेत भन्ने गर्दछन् । यी कुराले आफ्नो निकै चित्त दुख्ने गरेको उनको गुनासो छ ।

निरुता भन्छिन्, ‘भारत मेरो जन्मभूमि हो भने नेपाल कर्मभूमि । मलाई दुवै देशको उत्तिक्कै माया लाग्छ । म भारतमै जन्मे-हुर्के । स्कूलमा भारतको राष्ट्रिय गान गाउनु पर्थ्यो । म त्यो माहोलबाट आएको हुँ । मेरो पिता पूर्खा भने नेपालमा जन्मिएका हुन् । सानैदेखि मनिषा कोइराला नेपाली हुन् भनेर हामीले सबैलाई भन्ने गर्थ्यो । किनकि, म नेपालकी छोरी हुँ, नेपालको माया लाग्छ ।’

नेपालमा जन्मिएर नेपाली भएर बाँच्न पाउने सौभाग्य आफूले नपाए पनि नेपालप्रति आफ्नो अटुट माया रहेको उनी बताउँछिन् । तर, भारतमा जन्मिएका कारण आफूले भोग्नु परेको तिरस्कारले चित्त दुख्ने गरेको उनको गुनासो छ । उनी भन्छिन्, ‘भारतको स्वतन्त्रता दिवसको दिन सामाजिक सञ्जालमा केही पोस्ट गर्दा ‘यो धोतिनी हो त्यसैले इन्डियाको समर्थन गर्छ’ भन्दा साह्रै चित्त दुख्छ ।’

हिन्दी गीतमा टिकटक बनाउँदा समेत भारतीय भन्दै आफ्नो खेदो खनिने उनी गुनासो गर्छिन् । निरुता अगाडि भन्छिन्, ‘भारतमा बस्दा हामीलाई नेपाली भन्ने गर्छन् । नेपाल आए भारतीय भन्छन् । हामी के गर्ने ? हामी कसरी बाँचिरहेका छौं भन्ने कुरा हामीलाई मात्र थाहा छ । भारतीय नागरिक भएकाले भारतको विरुद्धमा बोल्न पनि सक्दैनौं । यो कुरा किन बुझ्न नसकेका होलान् ?’ फिल्मी खबर बाट साभार

You might also like

Comments are closed.