Nepal's First Video FM

बलात्कारपछि हत्या गरिएकी बालिका सम्झना कामीको शव ६ दिनसम्म उठेन

421

बलात्कारपछि हत्या गरिएकी बालिका सम्झना कामीको शव परिवारले बुझ्न मानेको छैन । घटना भएको ६ दिन भइसक्दा पनि अपराधीलाई कानुनी दायरामा ल्याउने विषयमा प्रहरीबाट चित्तबुझ्दो जवाफ नआएको भन्दै शव उठाउन नमानेको हो ।

सम्झनाको बलात्कार तथा हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आइतबार चैनपुरमा भएको प्रदर्शनका सहभागी र पक्राउ परेका आरोपित राजेन्द्र बोहरा (इन्सेटमा) ।
बलात्कार र हत्यामा संलग्न व्यक्तिलाई पत्ता लगाइसकेको भने पनि अभियुक्तले अपराध स्वीकार नगरेको प्रहरीको भनाइ छ । प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा पक्राउ परेका व्यक्ति राजेन्द्र बोहरा नै अपराधमा संलग्न छन् भन्ने खालको आशय नआएको पीडित परिवारको भनाइ छ ।

‘प्रहरीले प्रेस विज्ञप्ति भनेर एउटा पर्चा हामीलाई थमाएको छ । त्यसमा राजेन्द्र बोहरालाई पक्राउ गरेर अनुसन्धान भइरहेको भन्ने लेखेको छ,’ सम्झनाका काका ईश्वर विकले भने, ‘प्रहरीले पनि अनुसन्धानकै क्रममा छौं, उसले अपराध स्विकारेको छैन, केस जता पनि मोडिन सक्छ भनेर दुईधारे कुरा गरिरहेको छ । कतै अपराधीलाई उम्काउने खेल त होइन भन्ने शंका छ । यही नै अपराधी हो भन्ने विश्वासिलो कुरा नआउन्जेल हामी लास उठाउँदैनौं ।’

गत बुधबार बलात्कारपछि हत्या गरिएको अवस्थामा मस्टा गाउँपालिका–२ की १२ वर्षीया सम्झनाको शव शिव मन्दिरमा फेला परेको थियो । सोही दिन प्रहरीले मस्टा–२ खिकालाका २० वर्षीय राजेन्द्र बोहरालाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा बोहरा शृंखलाबद्ध अपराधका घटनामा जोडिएको पाइएको छ । घटनाको भोलिपल्ट असोज ८ गते पोस्टमार्टम गरेर सम्झनाको शव जिल्ला अस्पताल बझाङको शव गृहमा राखिएको छ । फ्रिज नभएका कारण शव कुहिएर गन्हाउन थालेको जिल्ला अस्पतालका डा. मिलन खड्काले बताए । जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी रूपक खड्काले अभियुक्तले अपराध स्वीकार नगरेको भए पनि बोहरा नै घटनामा संलग्न रहेको भन्ने यथेस्ट प्रमाण जुटाइसकेको बताए ।

You might also like

Comments are closed.