राष्ट्रपति विद्यादेवी भण्डारीले एसिडको बिक्री वितरण नियमन गर्ने र आक्रमणविरुद्ध कडा सजाय प्रस्ताव गरिएको अध्यादेश जारी गरेकी छन् । भण्डारीले अध्यादेश प्रमाणीकरण गरेसँगै सो अध्यादेश कार्यान्वयनमा जानेछ । संविधानको धारा १४४ को १ बमोजिम राष्ट्रपति भण्डारीले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश प्रमाणीकरण गरेकी हुन् ।
अध्यादेश जारी भएसँगै अब कुनै पनि व्यक्तिले दोस्रो व्यक्तिलाई एसिड प्रहार गरे २० वर्षसम्म जेल सजाय हुनेछ । एसिड छ्याप्ने व्यक्ति कानुनबमोजिम सजाय कटौती नहुने गरी २० वर्षसम्म जेल बस्नुपर्नेछ । अध्यादेशमा एसिड आक्रमण गर्दा सम्बन्धित व्यक्तिलाई नलागेमा पनि उद्योग गरेको मानिने र यस्तो उद्योगमा १० वर्षसम्म कैद र ५ लाखसम्म जरिमाना हुने व्यवस्था छ ।
एसिड आक्रमण गरेको प्रमाणित भएमा भने २० वर्षसम्मको कैद सजाय हुन सक्नेछ ।
Comments are closed.