१४ असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारका घटना बढे पनि विश्वका अरु देशको तुलना गर्दा नेपालको अवस्था चिन्ताजनक नभएको बताएका छन् । विश्वका सवा २०० देशको अवस्था विश्लेषण गर्दा नेपाल बलात्कारका घटनामा धेरै पछाडि रहेको उनले बताए ।
उहाँले सोमबार (आज) बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा विश्वका सवा दुई सय देशको अवस्थालाई विश्लेषण गर्दा नेपाल बलात्कारका घटनामा धेरै पछाडि रहेको बताउनुभएको हो । उनले अघि भने, ‘सवा २०० कन्ट्री(देश) हरु अवस्था विश्लेषण गर्दा हामी धेरै चिन्तित हुनुपर्ने विषय होइन । सरकारको तर्फबाट न्यूनीकरणमा प्रयासहरु भएका छन् र हाम्रो स्थान धेरै पछाडि नै छौं । पछाडिबाट हेर्दा हामी टप १५ मा छौं ।’
अमेरिकालगायतका विकसित मुलुकको अवस्था नेपालको भन्दा खराब रहेको थापाले बताए । दक्षिण अफ्रिकामा बलात्कारका घटना धेरै हुने भन्दै उनले भने, ‘अमेरिका टप १० भित्र पर्छ । त्यहाँ बलात्कार घटना प्रतिमिनेट ७ वटा हुने कुरा आएको छ ।’
यसैबीच उहाँले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई कारबाही गर्न ढिलाई भएको स्वीकार गर्दै अपराधीलाई कानूनी कठघरामा ल्याउन आफूहरु निरन्तर लागिपरेको बताउनुभयो ।
यसै बिच बलात्कारपछि हत्या भएका दुई किशोरीको सम्झनामा बुधबार माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ। अनेरास्ववियुले माइतीघर मण्डलामा बुधबार साँझ दुई किशोरीको सम्झनामा दीप प्रज्वलन गरेको हो। २०७५ साउनमा कञ्चनपुरकी १३ वर्षीया निर्मलाको बलात्कारपछि उखुबारीमा शव फेला परेको थियो। त्यस्तै असोज ७ गते बझाङकी १२ वर्षीया सम्झनाको मन्दिर परिसरमा शव भेटिएको थियो।
सम्झनाको पनि बलात्कारपछि हत्या भएको हो। हालसम्म निर्मलाको हत्यामा संलग्न कोही पक्राउ परेका छैनन् भने सम्झनाको हत्यामा संलग्न एक जना पक्राउ परेका छन्।
Comments are closed.