काठमाडौं : रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा आज गजुर प्रतिस्थापन गरिएको छ । २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेपछि बिहीबार सुनको लेपन भएको गजुर राखिएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार मन्दिरमा राखिएका सबै गजुरमा करिब २८ तोला सुनको जलप लगाइएको छ । गजुर निर्माणमा करिब ३३ लाख रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ ।
मुख्य गजुर १२३ किलोग्राम तौलको छ । तामाले बनेको हो गजुरको बाहिरी आवरण सुनले लेपन गरिएको हो । गोरखा भूकम्पका कारण पूर्णरूपमा भत्किएको रानीपोखरी अहिले लगभग निर्माण सम्पन्न भएको छ । यही दशैँअघि नै उद्घाटन गर्ने योजना राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको छ । अहिले सरसफाइ र बत्ती राख्ने काम भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले बताए ।
शुरुमा काठमाडौँ महानगरपालिको पुनःनिर्माण गर्ने भने पनि कहिले पुरातत्व विभागसँग त कहिले कामपामा नै आन्तरिक कुरा नमिल्दा तीन वर्षसम्म पनि पुनःनिर्माणको काम अघि बढ्न सकेको थिएन । अन्ततः पुनःनिर्माणको काम प्राधिकरणलाई जिम्मा दिइएको थियो ।
भूकम्प गएकै वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पुर्याएको सम्पदा पुनःनिर्माणको शुरुआत रानीपोखरीबाटै गरेका थिए ।
प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो ।
Comments are closed.