चितवनको इच्छाकामना गाउँपालिका–६ कुयालघारीमा पहिलोपटक बिजुली बत्ती बलेको छ ।
प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले सोमबार ट्रान्सफर्मरको स्वीच अन गरेर औपचारिक उद्घाटन गर्नुभयो । बिजुली बलेसँगै कुयलघारीका ८७ घर उज्यालो भएका छन् । गाउँमा पहिलोपटक बत्ती बलेपछि स्थानीयवासी खुशी भएका छन् । रु ३१ लाखको लागतमा ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत गाउँमा बिजुलीबत्ती बालिएको हो । सो ठाउँमा कोरोना कहरका बीच पनि विद्युतीकरणको काम तीव्र पारिएको थियो ।
सो अवसरमा प्रतिनिधिसभा सदस्य पोखरेलले कुयालघारीमा बिजुली बल्दा अत्यन्त हर्षित भएको बताउँदै आफूले गाउँलाई उज्यालो बनाउन गरेको मेहेनत पूरा भएको बताउनुभयो । विभिन्न अप्ठ्यारा र अवरोध पन्छाउँदै लकडाउन र कोरोना कहरकै बीच काम गर्ने विद्युत् प्राधिकरण, ठेकेदार कम्पनीलाई धन्यबाद दिँदै उहाँले सडक र बिजुली पुगेपछि दुर्गमका समस्या केही कम भएको बताउनुभयो । “म निर्वाचित हुँदा साविकको काउले, दाहाखानी, चन्डीभन्ज्याङमा बिजुली पुगेको थिएन”, उहाँले भन्नुभयो, “अहिले केही गाउँबाहेक सबै ठाउँमा बिजुली बल्छ ।” उहाँले अर्को वर्षभित्र इच्छाकामना गाउँपालिकामा विद्युतीकरणको काम सम्पन्न हुने बताउनुभयो ।
Comments are closed.