प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई बोलाउने तयारी गरेको छ। कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि ओम्नी समूहसँग स्वास्थ्य उपकरण खरिद सम्झौता प्रकरणमा संलग्नता रहेको भन्दै समितिको असोज ८ गते बस्ने बैठकमा स्वास्थ्यमन्त्री ढकाललाई बोलाउने तयारी गरिएको समितिका सचिव डा. रोजनाथ पाण्डेले बताए।
समितिको गत असार ८ गते बसेको बैठकले कोभिड–१९ रोकथामका लागि स्वास्थ्य उपकरण खरिद प्रकरणमा असम्बन्धित व्यक्तिलाई संलग्न गराई अख्तियार दुरुपयोग भएको निष्कर्ष निकालेको थियो। स्वास्थ्य सामग्री खरिदसम्बन्धी सम्पूर्ण कागजात मगाएपछि लेखा समितिले तीनपटक छलफल गरिसकेको छ। समितिले सुरुमा स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री कार्यालयका बहालवाला सचिवसँग छलफल गरेको थियो। दोस्रोपटक तत्कालीन सचिव यादव कोइराला र तेस्रोपटक महार्देशक महेन्द्र श्रेष्ठसँग छलफल गरेको थियो। चौथो बैठकमा स्वास्थ्यमन्त्रीसँग छलफल गर्न लागेको सचिव डा. पाण्डेले बताए।
स्वास्थ्य सेवा विभागले कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न स्वास्थ्य सामग्री ल्याउन गरिएको सम्झौता २०७६ चैत १९ गते सम्झौता रद्द गरेको थियो। बजार मूल्यभन्दा निकै महँगोमा सामग्री खरिद गरेको भन्दै सरकारको आलोचना भएको थियो। स्वास्थ्य विभागले ओम्नी समूहसँग चीनबाट स्वास्थ्य उपकरण ल्याउन सम्झौता गरेको थियो। विभागले उक्त समूहले धरौटी राखेको ६ करोड रुपैयाँ पनि जफत गरेको थियो। स्वास्थ्य विभागले ओम्नीसँग १ अर्ब ३४ करोड रुपैयाँको ठेक्का गरे पनि २१ करोडको मात्रै सामान ल्याइएको थियो।
ओम्नीसँग भएको विवादास्पद सम्झौता रद्द गरेपछि सरकारले जिटुजी स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिएको थियो। सेनाले खरिद गरेको सामग्रीसमेत गुणस्तरहीन रहेको भन्दै प्रश्न उठेको छ। ‘हामी पहिले ओम्नी समूहसँगको सम्झौताबारे निष्कर्षमा पुग्छौं,’ लेखा समिति सचिव डा. पाण्डेले भने, ‘त्यसपछि मात्र नेपाली सेनाको खरिदमा प्रवेश गर्नेछौं।’ नागरिक बाट साभार
Comments are closed.